राजस्व अनुसन्धान विभागको महानिर्देशकमा सहसचिव तीर्थराज चिलुवाल नियुक्त भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार चिलुवाललाई विभागको नेतृत्व सुम्पिएको हो।
चण्डीप्रसाद घिमिरे गत असारमा अवकाश भएपछि रिक्त रहेको पदमा चिलुवालले जिम्मेवारी पाएका हुन्। उनी यसअघि आन्तरिक राजस्व विभागमा उपमहानिर्देशकका रूपमा कार्यरत थिए।
चिलुवालले यसअघि वाणिज्य विभागको महानिर्देशक, राजस्व अनुसन्धान विभागको निर्देशक, इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख तथा प्रमुख जिल्ला अधिकारीलगायतका पदमा रहेर प्रशासनिक अनुभव बटुलिसकेका छन्।
राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको रोकथामका साथै विदेशी विनिमयसम्बन्धी कसुरहरूमा अनुसन्धान र कारबाहीको जिम्मेवारी सम्हाल्ने गर्दछ। नयाँ नेतृत्वसँगै विभागले थप प्रभावकारी ढंगमा कार्य गर्न अपेक्षा गरिएको छ।