औषधि सिफारिसमा नयाँ व्यवस्था: चिकित्सक, फार्मेसी र बिरामीलाई जबाफदेही बनाउने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जले आफ्ना चिकित्सकलाई औषधिको ‘जेनेरिक’ नाममा र अनिवार्य रूपमा ‘क्यापिटल लेटर’ (अङ्ग्रेजी वर्णमालाको ठुला अक्षर)मा लेखेर सिफारिस गर्न निर्देशन दिएको छ ।

टिचिङ अस्पतालका चिकित्सकहरूले अब औषधिको नाममा कम्पनीको ब्रान्ड नलेखेर यसको जेनेरिक नाम र ठुलो (क्यापिटल) अक्षर अनिवार्य लेख्नुपर्ने व्यवस्था लागु गरिएको हो ।

नेपालका अधिकांश अस्पतालमा बिरामीलाई औषधि सिफारिस गर्दा चिकित्सकहरूले औषधिको ब्रान्ड नाम प्रयोग गर्दै आएका छन् । हरेक कम्पनीले एकै रोगको उपचारमा प्रयोग हुने औषधिलाई आ–आफ्नो ब्रान्ड नाम (जस्तैः निको, मेडोमोल) दिएका हुन्छन्, जसलाई स्थापित गर्न उनीहरूले विज्ञापनमा ठुलो लगानी गर्छन् । औषधिको मुख्य रासायनिक तत्वलाई ‘प्यारासिटामोल’जस्तै जेनेरिक नामले चिनिन्छ । यो जेनेरिक नाम संसारभर एउटै हुन्छ ।

यद्यपि नेपालमा अधिकांश अस्पतालका चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा ब्राण्डको नाम लेख्दै आएका छन् । जेनेरिक नाम लेख्ने नीति विश्वव्यापी रूपमा धेरै देशमा प्रचलनमा छ । नेपालमा पनि पाटन अस्पताल, धुलिखेल अस्पताल लगायतका केही अस्पतालले पहिलेदेखि नै जेनेरिक नाममै औषधि सिफारिस गर्दै आएका छन् ।   
एसोसिएट प्रो.डा. राजकुमार थापाले यो व्यवस्था लागु भएसँगै अस्पष्ट हस्तलेखनका कारण विगतमा देख्दा उस्तै, सुन्दा उस्तै औषधिहरूमा गल्ती हुने र गलत औषधि बिरामीलाई पुग्ने जोखिम नहुने बताए ।  जेनेरिक नाम स्पष्ट रूपमा लेख्दा यो समस्याको समाधान हुुने उनको विश्वास छ ।

उता यो कदमले औषधिको खरिद र वितरण प्रक्रियामा पारदर्शिता ल्याएर बिरामीहरूलाई सस्तो र सुलभ औषधि उपलब्ध गराउन सहज हुने वरिष्ठ फार्मेसिष्ट अमृत खनालले बताए ।

जेनेरिक नाम किन आवश्यक ?

अस्पष्ट हस्तलेखनले गर्दा पनि औषधिको नाम बुझ्न गाह्रो हुने र गलत औषधि वितरण हुने जोखिम हुनका साथै धेरै मेडिकेसन इररले बिरामीहरूलाई अकाल मृत्युसम्म पुर्‍याएको जनस्वास्थ्यविज्ञहरूले बताउँदै आएका छन् ।

अधिकांश डाक्टरले औषधिको सक्रिय रसायनको नाम (जेनेरिक) को सट्टा ‘ब्रान्ड नेम’ मा सिफारिस गर्ने प्रचलन थियो । यसले गर्दा बिरामीहरूले महँगा ब्रान्डेड औषधि किन्न बाध्य रहेको वरिष्ठ फार्मेसिष्ट खनाल सुनाउँछन् ।

अस्पष्ट हस्तलेखनले गर्दा पनि औषधिको नाम बुझ्न गाह्रो हुने र गलत औषधि वितरण हुने जोखिम हुनका साथै धेरै मेडिकेसन इररले बिरामीहरूलाई अकाल मृत्युसम्म पुर्‍याएको जनस्वास्थ्यविज्ञहरूले बताउँदै आएका छन् ।

‘अस्पष्ट हस्तलेखनको अन्त्यले डाक्टरहरूले ठुलो अक्षरमा जेनेरिक नाम स्पष्ट रूपमा लेख्दा औषधिको नाम बुझ्न सजिलो हुन्छ,’ खनालले भने, ‘यसले गलत औषधि वितरण हुने सम्भावना कम गर्छ ।’

डा. थापा जेनेरिक नाममा औषधि सिफारिस गर्दा बिरामीहरूले बजारमा उपलब्ध विभिन्न कम्पनीका सस्तो जेनेरिक औषधिमध्ये सस्छो छनोट गर्न पाउने भएकाले बिरामीको आर्थिक भार कम हुन सक्ने बताउँछन् ।

यस्तै, सरकारले टेन्डरमार्फत किनेका जेनेरिक औषधिहरू पूर्ण रूपमा प्रयोगमा आउने वरिष्ठ फार्मेसिष्ट खनालको जिकिर छ । यसले औषधिको म्याद गुज्रिने समस्या कम भई राज्यको ठुलो रकम बचत हुने उनले बताए । औषधि व्यवस्थापन विभागले औषधिको गुणस्तर सुनिश्चित गर्नुपर्ने उनको जिकिर छ । ‘बजारमा आउने सबै जेनेरिक औषधि गुणस्तरीय छन् भनी डीडीएले प्रमाणित गरेपछि डाक्टरहरूलाई कुनै पनि कम्पनीको औषधि सिफारिस गर्न सजिलो हुन्छ,’ उनले भने ।

डाक्टर र फार्मासिस्टको जवाफदेहिता

प्रा.डा. थापाले जेनेरिक नाम र ठुलो अक्षरमा औषधि सिफारिस गरेपछि डाक्टरहरूको जवाफदेहिता कम हुने बताए । ‘अब कुनै गल्ती भयो भने त्यसको दोष औषधि पसल फार्मेसीको हुनेछ, जसले गलत औषधि वितरण गरेको हुन्छ,’ उनले भने, ‘यसले फर्मासिस्टहरूलाई पनि थप जिम्मेवार बनाउनेछ ।’

सरकारी अस्पतालहरूले टेन्डर प्रक्रियामार्फत कम मूल्यमा औषधि खरिद गर्छन् । प्रायः यी जेनेरिक औषधि हुन्छन्, तर डाक्टरहरूले ब्रान्ड नाम लेख्दा अस्पतालमा उपलब्ध सस्तो जेनेरिक औषधि हुँदाहुँदै पनि बिरामीले बाहिरबाट महँगो ब्रान्डको औषधि किन्नुपर्ने बाध्यता यो नियम लागु गरेमा अन्त्य हुने वरिष्ठ फार्मेसिस्ट खनालले सुनाए ।

डाक्टरले लेखेको ब्रान्डको औषधि नहुँदा अस्पतालले किनेको जेनेरिक औषधि म्याद सकिएर खेर जाने समस्या रहेको यसअघि विभिन्न अस्पतालले गुनासो गर्दै आएका थिए, जसले गर्दा राज्यलाई ठुलो आर्थिक घाटा भइरहेको थियो ।

मेडिकल प्रतिनिधिहरूले ड्युटीमा रहेका चिकित्सकहरूसँग भेटघाट गर्दा उपचाररत बिरामीहरूलाई असुविधा भएको अस्पतालले जनाएको छ । यसका साथै अस्पतालजस्तो संवेदनशील स्थलको कार्य वातावरणमा समेत नकारात्मक असर परेको अस्पताल प्रशासनले जनाएको छ ।

यद्यपि कोरोना महामारीकालमा केही डाक्टरले आफूलाई विश्वास लागेको वा गुणस्तरीय मानिएको ब्रान्डको औषधि लेख्दा बिरामी छिटो निको हुने तर्क गरेका थिए । कोभिडको समयमा नेपाली पारासिटामोलले भन्दा भारतबाट आएको ‘मेडोमोल’ (ब्रान्ड) ले राम्रो काम गरेको जिकिर समेत उनीहरूको थियो ।

अर्कोतर्फ निजामती कर्मचारी अस्पतालले अस्पताल परिसरभित्र विभिन्न औषधि कम्पनीका मेडिकल प्रतिनिधिका एमआरहरूलाई व्यावसायिक प्रवर्द्धन सम्बन्धी कुनै पनि गतिविधि नगर्न/नगराउन निर्देशन दिएको छ । अस्पतालले यसअघि नै यस्ता कार्यहरूमा रोक लगाएको भएता पनि पुनः गतिविधि भइरहेको पाइएपछि नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

मेडिकल प्रतिनिधिहरूले ड्युटीमा रहेका चिकित्सकहरूसँग भेटघाट गर्दा उपचाररत बिरामीहरूलाई असुविधा भएको अस्पतालले जनाएको छ । यसका साथै अस्पतालजस्तो संवेदनशील स्थलको कार्य वातावरणमा समेत नकारात्मक असर परेको अस्पताल प्रशासनले जनाएको छ ।

केही डाक्टर औषधिको बिक्री प्रतिनिधि (एमआर) हरूको प्रभाव वा आर्थिक प्रलोभनमा परेर महँगा ब्रान्डका औषधि लेख्ने गरेको आरोप लाग्ने गरेको छ । यद्यपि, एमआरहरूले नयाँ औषधिबारे जानकारी दिने सकारात्मक भूमिका निभाउने चिकित्सकहरू सुनाउँछन् ।साभार: रातोपाटी

Comments (0)
Add Comment