भियतनाममा अविरल वर्षा : भीषण बाढीले ९० को मृत्यु, १२ बेपत्ता

भियतनाममा लगातार परेको अविरल वर्षापछि आएको भीषण बाढीमा परी कम्तीमा ९० जनाको मृत्यु भएको छ भने १२ जना अझै बेपत्ता रहेका स्थानीय अधिकारीहरूले बताएका छन्। बाढीका कारण एक लाख ८६ हजार घरमा क्षति पुगेको छ भने करिब ३० लाख वस्तुभाउ बगाएको अनुमान गरिएको छ।

सरकारका अनुसार बाढीले अहिले सम्म करोडौँ डलर बराबरको भौतिक र आर्थिक क्षति पुर्‍याइसकेको छ। विशेषगरी पहाडी प्रान्त डाक लाक अत्यधिक प्रभावित भएको छ, जहाँ मात्र ६० जनाले ज्यान गुमाएका छन्। बाढीले सडक तथा रेलवे सञ्जाल पूर्ण रूपमा क्षतविक्षत बनाइदिएको छ भने साढे दुई लाखभन्दा बढी मानिस अँध्यारोमा बस्न बाध्य भएका छन्।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि सेना र प्रहरी परिचालन गरिएको जनाइएको छ। विभिन्न क्षेत्रमा डेढ मिटरदेखि पाँच मिटरसम्म पानी जमेकाले राहत तथा उद्धार कार्यमा थप कठिनाइ भइरहेको अधिकारीहरूको भनाइ छ।

Comments (0)
Add Comment