जापानमा ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामी चेतावनी सतर्कतामा रूपान्तरित

मङ्सिर २३, एजेन्सी : जापानको उत्तर–पूर्वी क्षेत्र शक्तिशाली भूकम्पले हल्लिएको छ। जापान मौसम एजेन्सीका अनुसार ७.५ म्याग्निच्यूड मापन गरिएको भूकम्प सोमबार राति स्थानीय समय अनुसार ११:१५ बजे समुद्र किनार नजिकै उत्पन्न भएको हो। सुरुमा सुनामीको चेतावनी जारी गरिएको थियो, तर केही समयपछि जोखिम कम भएको भन्दै चेतावनीलाई सतर्कतामा रूपान्तरित गरिएको छ।भूकम्पपछि सम्भावित विनाशकारी छालाबाट जोगिन करिब ९० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको अधिकारीहरूले बताएका छन्। होक्काइदो, आओमोरी र इवाते प्रिफेक्चरमा जारी चेतावनीपछि विभिन्न बन्दरगाहहरूमा २० देखि ७० सेन्टीमिटर उचाइका समुद्री छालाहरू देखिएको समाचार संस्था रोयटर्सले जनाइएको छ।

जापानी मौसम एजेन्सीका अनुसार भूकम्पको केन्द्र आओमोरी प्रिफेक्चरबाट करिब ८० किलोमिटर टाढा समुद्रभित्र ५४ किलोमिटर गहिराइमा रहेको छ। अहिलेसम्म ठूलो मानवीय तथा भौतिक क्षति नदेखिए पनि केही मानिस घाइते भएको पुष्टि गरिएको छ। साथै, पूर्वी जापान रेलवेले भूकम्पको प्रभावका कारण केही रेलसेवा अस्थायी रूपमा बन्द गरेको जनाएको छ।

उक्त क्षेत्र सन् २०११ मा ९ म्याग्निच्यूडको विनाशकारी भूकम्प तथा सुनामीबाट गम्भीर रूपमा प्रभावित भएको थियो, जसमा करिब २० हजारको ज्यान गएको थियो। जापान विश्वकै सबैभन्दा भूकम्प प्रभावित मुलुकमध्ये एक हो, जहाँ औसत पाँच–पाँच मिनेटको अन्तरमा भूकम्प मापन हुने तथ्यांक छ।

Comments (0)
Add Comment