कलैया, बारा :जलवायु न्याय सम्बन्धी प्रदेशस्तरीय संवाद कार्यक्रम पुस २, २०८२ गते Center for Social Change (सामाजिक परिवर्तन केन्द्र) को सहयोगमा कलैया–बारा स्थित दरबार होटलमा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा कलैया उपमहानगरपालिका र फेटा गाउँपालिकाका स्थानीय जनप्रतिनिधि, जेन–जि युवा, समाजसेवी, पत्रकार, कलैया Blue Diamond Society का प्रतिनिधि तथा सामाजिक परिवर्तन केन्द्रका प्रतिनिधि गरी करिब ४० जनाको सहभागिता रहेको थियो।
संवाद कार्यक्रममा सामाजिक परिवर्तन केन्द्रका प्रतिनिधि अनिस खत्री र समिक्षा न्यापानेले जलवायु न्याय सम्बन्धी संस्थाले गरेको अनुसन्धानका निष्कर्ष प्रस्तुत गर्नुभएको थियो। त्यसपछि आयोजित जलवायु सम्बन्धी प्यानल छलफलमा कविता खड्का, सरस्वती खरेल तथा फेटा गाउँपालिकाका कृषि प्राविधिक सन्जय कुशवाहाले प्यानलिस्टका रूपमा आ–आफ्ना धारणा राख्नुभयो।
संवादका क्रममा Blue Diamond Society की प्रतिनिधि पूर्णिमा श्रेष्ठले स्थानीय तहबाट वृक्षरोपण अभियानलाई प्रभावकारी बनाउँदै पानीका मुहान वरिपरि सिमलजस्ता पानी सोस्ने रुख रोप्नुपर्ने सुझाव दिनुभयो। साथै “एक घर, एक बोट” नीति कार्यान्वयन गर्न र आगामी संवादमा प्रमुख जिल्ला अधिकारी (CDO), जिल्लास्तरीय अधिकारी तथा स्थानीय तहका प्रतिनिधिलाई समेत आमन्त्रण गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा सहभागी शेषनाथ यादवले जलवायु परिवर्तनका कारण र त्यसका प्रभाव व्यवस्थापनका उपायबारे स्पष्ट जानकारी माग गर्दै प्रश्न राख्नुभयो। त्यसको जवाफमा कविता खड्काले उद्योग, यातायात, कोइला तथा पेट्रोलियम पदार्थको प्रयोग, वन फँडानी र औद्योगिकीकरणबाट निस्कने फोहोरका कारण कार्बन डाइअक्साइड (CO₂) उत्सर्जन बढेर जलवायु परिवर्तन भएको स्पष्ट पार्नुभयो।
जेन–जि सहभागी कृष पटेलले बढ्दो खानेपानी समस्याबारे प्रश्न उठाउँदै जापानमा प्रयोग भइरहेका पानी भण्डारण प्रविधि नेपालमा किन प्रयोग हुन नसकेको भन्ने विषयमा चर्चा गर्नुभयो। यस सन्दर्भमा कलैया उपमहानगरपालिका वडा नं. १२ का अध्यक्षले स्थानीय स्तरमा खानेपानी, नालाको पानी तथा आकाशे पानीलाई भूमिगत रिचार्ज गर्ने काम भइरहेको जानकारी गराउनुभयो।
कृषि तथा पशुपालन क्षेत्रले जलवायु परिवर्तनमा पार्ने प्रभावबारे समाजसेवी उमेश दुबेले प्रश्न उठाउनुभयो। जवाफमा कृषि प्राविधिक सन्जय कुशवाहाले पशुपालनमा गोबरको उचित व्यवस्थापन नहुँदा मिथेन ग्यास उत्सर्जन हुने र यसको Global Warming Potential कार्बन डाइअक्साइडभन्दा २८ गुणा बढी हुने जानकारी दिनुभयो। साथै धान खेतीमा रासायनिक मलको अत्यधिक प्रयोग, खेतमा बाली अवशेष जलाउँदा नाइट्रस अक्साइड ग्यास निस्कने, वन विनाश तथा भारी कृषि उपकरणमा प्रयोग हुने इन्धनबाट CO₂ उत्सर्जन हुने कारणले जलवायु परिवर्तन तीव्र भएको उल्लेख गर्नुभयो।
उहाँका अनुसार जलवायु परिवर्तनका कारण कृषिमा खडेरी, अत्यधिक वर्षा र बाढी, नदी तथा पानीका मुहान सुक्नु, बाली उत्पादन घट्नु, बाली पाक्ने समय परिवर्तन हुनु, रोग र किराको प्रकोप बढ्नु, माटो क्षय, खाद्य असुरक्षा र रैथाने बाली लोप हुनेजस्ता असर देखिएका छन्। अनुकूलन उपायका रूपमा drip irrigation, sprinkler irrigation, rainwater harvesting, बाँध तथा तटबन्ध निर्माण, जैविक बार, उन्नत जातका बीउ प्रयोग, रैथाने बाली संरक्षण र आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुभयो।
त्यसैगरी सरस्वती खरेलले जलवायु परिवर्तनले महिलामा पार्ने प्रभाव, पानीका मुहान सुक्नुका कारण, कम वर्षाले जलभण्डार रिचार्ज नहुनु, तापक्रम वृद्धिले मुहान चाँडै सुक्नु, हिम पग्लिने दरमा आएको परिवर्तन, वन विनाश, भूमिगत पानीको अत्यधिक प्रयोग, अव्यवस्थित पूर्वाधार निर्माण र पानी प्रदूषणका विषयमा सहजीकरण गर्नुभयो। समाधानका उपायका रूपमा पोखरी निर्माण तथा मर्मत, rainwater harvesting, चेक ड्याम, पानी बचत, पानीको पुनःप्रयोग तथा वैकल्पिक स्रोत विकासमा जोड दिनुभयो।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी सामाजिक परिवर्तन केन्द्रका प्रतिनिधि बिकी कुशवाहाले दिनुभएको छ।