Modern technology gives us many things.

प्रधानमन्त्री भन्छन्: देशलाई ओरालो लाग्नबाट बचाउने हो भने एमाले नेतृत्व चाहिने रहेछ

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ओरालो लाग्नबाट जोगाउन, अर्थतन्त्र र राजनीतिलाई सही मार्गमा डोर्‍याउन एमालेको नेतृत्व अपरिहार्य रहेको बताएका छन्।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको बहुमतको एकल सरकारले मात्र देशमा सुशासन र तीव्र विकास सुनिश्चित गर्न सक्ने दाबी गरे।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘यो देशलाई ओरालो लाग्नबाट जोगाउने हो भने, अर्थतन्त्र बिग्रिन नदिने, राजनीति बिग्रिन नदिने हो भने एमालेको नेतृत्व चाहिने रहेछ।’ उनले थपे, ‘यस देशलाई सुशासन र विकासको बाटोमा तीव्र गतिले अगाडि बढाउने हो भने एमालेको बहुमतको एकल सरकार चाहिने रहेछ। जसबाट बिना व्यवधान नेकपा एमाले आफ्नो नीतिका साथ अगाडि बढ्न सक्छ।’

केही तत्त्वहरूले भ्रम फिँजाएर देश विकासमा अवरोध पुर्‍याउन खोजेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले भने, ‘यो बुझ्न ढिला गर्‍यौँ। निकै ठुलो समूहमा भ्रम फिँजाइसके, भ्रम फिँजाउने तत्त्वहरूले। वास्तवमा यो देशको विकास नहोस् भन्नेहरूले। ठुलो उद्देश्यले पनि होइन होला साना उद्देश्यले गलत बाटो हिँडिसके केही व्यक्ति, केही तत्त्वहरू। यस्तो देखेपछि हामी अलिकति आँखा खोल्दै छौँ।’

आगामी निर्वाचनलाई लक्षित गर्दै ‘मिसन ८४’ को अवधारणा अघि सारिएको बताउँदै उनले भने, ‘हामीले मिसन ८४ किन भन्यौँ भन्दा हामीलाई बहुमत चाहिन्छ। बहुमतको एमाले चाहिन्छ। तब सुशासन र विकासको बाटोमा गतिका साथ देशलाई अगाडि लैजान सकिन्छ।’

प्रधानमन्त्री ओलीले एमाले सरकारमा संलग्न हुँदा, नेतृत्व गर्दा र बहुमतको सरकार हुँदा देश विकासको गतिमा फरक पर्ने विश्लेषण प्रस्तुत गरे।

‘सुस्त भए पनि बिग्रिन नदिन एमालेको नेतृत्व चाहिने,’ उनले दाबी गर्दै भने, ‘एमाले संलग्न छ भने बिग्रिनसम्म रोक्छ, अगाडि बढ्न चाहिँ गाह्रै हुन्छ। बिग्रिने क्रमलाई रोक्नसम्म सक्छ एमाले संलग्न सरकारले, एमाले नेतृत्वको सरकार छ भने अलिकति बिग्रिने क्रमलाई रोकेर धिमा गतिमा अगाडि बढाउन सक्छ। एमालेको बहुमतको सरकार छ भने देशलाई सुशासन र विकासको बाटोमा तीव्र गतिले अगाडि बढाउन सक्छ।’

Leave A Reply

Your email address will not be published.