बाराको सिम्रौनगढमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु, तीन जना घाइते
बारा, असोज २५ । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार शनिबार साँझ सिम्रौनगढबाट कचोर्वातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल (BR05AF 0140) ले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा सिम्रौनगढ नगरपालिका–६ निवासी करिब ३७ वर्षीया रिजवना खातुनको मृत्यु भएको हो। साइकलमा सवार खातुनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। तर, उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा साइकल चालक तथा मृतकका श्रीमान् करिब ४० वर्षीय सबु मोहम्द घाइते भएका छन्। उनको टाउको र निधारमा चोट लागेको प्रहरीले जनाएको छ। कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेका उनलाई थप उपचारका लागि राति वीरगन्जस्थित नारायणी न्युरो अस्पताल रेफर गरिएको छ।
त्यस्तै, मोटरसाइकल चालक सिम्रौनगढ नगरपालिका–६ निवासी करिब १७वर्षीय अजय महतो र मोटरसाइकलमा सवार करिब १६ वर्षीय विवेक महतो पनि घाइते भएका छन्। दुवैको टाउको, नाक र कानमा चोट लागेको छ। उनीहरूको अवस्था गम्भीर रहेको र प्रारम्भिक उपचारपछि थप उपचारका लागि नारायणी न्युरो अस्पताल वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी कचोर्वाबाट प्रहरी हवल्दार शैलेन्द्र प्रसाद यादवको कमान्डमा तथा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
दुर्घटनामा संलग्न मोटरसाइकल र साइकल प्रहरी चौकी कचोर्वाको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।