Modern technology gives us many things.

बझाङ तीनजना कृषकलाई भिमदत्त उत्कृष्ट कृषक पुरस्कार

बझाङका तीन जना कृषक उत्कृष्ट कृषिकर्म गरेबापत प्रदेशस्तरीय पुरस्कारबाट सम्मानित भएका छन् ।

सुदूरपश्चिम प्रदेशको कृषि विकास निर्देशनालयले प्रदान गर्ने उक्त पुरस्कारबाट छविसपाथीभेरा गाउँपालिका–६, का मकर बोहरा, जयपृथ्वी नगरपालिका–३, का केशवराज विष्ट र खप्तडछान्ना गाउँपालिका–६, का कृषक शम्सेर थापा पुरस्कृत भएका हुन् । पुरस्कार राशि जनही २५ हजार नगद, प्रमाणपत्र र दोसल्ला रहेको छ ।

बझाङ जिल्लाका पालिका प्रमुख तथा उपप्रमुखहरुको उपस्थितिमा उनीहरुलाई जिल्ला समन्वय समिति बझाङका प्रमुख नरबहादुर बोहराले पुरस्कार हस्तान्तरण गरेका थिए । पुरस्कृत बोहरा र थापाले व्यावसायिक रुपमा प्रांगारिक तरकारी खेती गरिरहेका छन् भने विष्टले बगुंर र कुखुरापालन गरिरहेका छन् ।

सानै उमेरदेखि व्यावसायिक तरकारी खेतीमा लागेका खप्तडछान्नाका २३ वर्षीय थापा अहिले १५ रोपनी जग्गामा विभिन्न जातका तरकारी उत्पादन गरिरहेका छन् । उनले तरकारी खेतीबाटै वार्षिक १० लाखभन्दा बढी आम्दानी गर्ने गरेका छन् । स्नातक तहमा अध्ययन गरिरहेका उनले आफूले पाएको सम्मानले युवा पुस्तालाई कृषिमा लाग्न प्रेरणा मिल्ने बताए । ‘गाउँमा अझै पनि खेती गर्नेलाई हेलाको नजरले हेर्ने सोच छ । मैले आफैले धेरै पटक यस्तो व्यवहार भोगेको छु,’ उनले भने, ‘आज प्रदेशले गरेको सम्मानले कृषिमा काम गर्ने म जस्ता धेरै युवालाई थप राम्रो गर्न प्रेरणा मिल्ने छ भन्ने आशा छ ।’

Leave A Reply

Your email address will not be published.