संघीय लोकतान्त्रिक मोर्चामा कार्यक्रम समन्वयको जिम्मेवारी बाँडफाँट
मधेश केन्द्रित दलहरूको संयुक्त गठबन्धन संघीय लोकतान्त्रिक मोर्चाले आगामी जिल्ला स्तरीय कार्यक्रमहरूका लागि समन्वयको जिम्मेवारी बाँडफाँट गरेको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको कार्यालयमा बसेको बैठकले साउन १८ गते काठमाडौंमा आयोजना हुने संयुक्त कार्यक्रममा सामूहिक समन्वय गर्ने निर्णय गरेको हो । अन्य जिल्लाका कार्यक्रमहरूका लागि विभिन्न दलहरूलाई संयोजनको जिम्मा दिइएको छ ।
भैरहवा, नेपालगञ्ज र कैलालीमा हुने कार्यक्रमको संयोजन नागरिक उन्मुक्ति पार्टीले गर्नेछ । १६ भदौमा विराटनगरमा हुने कार्यक्रमको संयोजन जसपा नेपालले गर्नेछ भने सोही मितिमा राजविराजमा हुने कार्यक्रम राष्ट्रिय मुक्ति पार्टीको संयोजनमा हुनेछ । त्यस्तै, २० भदौमा जनकपुरमा तमलोपा र २२ भदौमा वीरगञ्जमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले कार्यक्रम समन्वय गर्ने जिम्मा पाएका छन् ।
यद्यपि, मोर्चामा आवद्ध सात दलमध्ये जनमत पार्टीले भने बैठक बहिष्कार गरेको छ । जनमत अनुपस्थित रहेकाले सो दललाई कुनै कार्यक्रम संयोजनको जिम्मेवारी दिइएको छैन ।
अधिकार र पहिचान पक्षधर शक्तिहरूसँग सहकार्य विस्तार गर्ने नीति अनुसार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नेपाल जनमुक्ति पार्टीसँग संवादको पहिलो चरण थाल्ने निर्णय पनि बैठकले गरेको छ ।