नागरिक उन्मुक्ति पार्टीको संरक्षक पक्षद्वारा अध्यक्ष रञ्जिता श्रेष्ठ पार्टीबाट निष्कासित
काठमाडौँ, साउन १५ :नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक तथा पूर्वसांसद रेशमलाल चौधरी पक्षको भेलाले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टीबाट निष्कासन गरेको छ।
काठमाडौंमा आयोजित विशेष भेलाबाट अध्यक्ष श्रेष्ठलाई ‘पार्टीको मार्गदर्शन विपरीत गतिविधिमा संलग्न’ भएको आरोप लगाउँदै निष्कासन गरिएको घोषणा गरिएको हो। भेलामा चौधरी पक्षले पार्टीको नेतृत्व फेरबदल गर्दै नयाँ व्यवस्थापन समिति गठन गर्ने निर्णयसमेत गरेको छ।
भेलामा सहभागी नेताहरूले रञ्जिता श्रेष्ठ नेतृत्वले पार्टीको मूल उद्देश्य र आन्दोलनको भावनाविपरीत गतिविधि गरेको आरोप लगाउँदै संरक्षक रेशम चौधरीको नेतृत्वमा पार्टीलाई पुनःएकीकृत र सुदृढ गर्ने प्रतिवद्धता व्यक्त गरे।
पार्टीको आधिकारिकता कसको पक्षमा रहने भन्ने विषयमा अब निर्वाचन आयोगले निर्णय लिने अपेक्षा गरिएको छ।