खोज पत्रकारितामा योगदान दिएका वरिष्ठ पत्रकार अशेश ढुंगानालाई सम्मान गर्नुपर्ने आवाज
बारा, भदौ ।
२०६२ सालदेखि निरन्तर पत्रकारितामा सक्रिय वरिष्ठ पत्रकार आशेश ढुंगाना नेपालको खोजमूलक पत्रकारितामा एक महत्त्वपूर्ण नामका रूपमा चिनिन्छन्। राजधानीदेखि ग्रामीण भेगसम्म निरन्तर कलम चलाउँदै आएका ढुंगानाले विशेषगरी तराई–मधेसका जटिल र चुनौतीपूर्ण विषयमा तथ्य र प्रमाणसहित समाचार उजागर गर्ने काम गर्दै आएका छन्।
२०६७ सालतिर प्रतिशोध पत्रिका का सञ्चालक र पत्रकारका रूपमा उनले जनताका आवाजलाई मुखर बनाउन थालेका थिए। जोखिमपूर्ण परिवेश र दबाबबीच पनि ढुंगानाले भुमाफिया, बिचौलिया, दलाल, भ्रष्टाचारग्रस्त निकाय र अनियमितताविरुद्ध लगातार कलम चलाए। यस क्रममा उनले बारम्बार चुनौती, धम्की र आर्थिक अभावसँग जुध्नुपर्यो तर पनि खोजमूलक पत्रकारिताबाट कहिल्यै पछि हटेनन्।
२०७८ सालदेखि कोल्हबी न्यूज डट कम का सञ्चालकका रूपमा काम गर्दै आएका ढुंगानाले स्थानीय समस्या, भुमि कब्जा, असमानता, सरोकारवालामाथिको अन्यायदेखि लिएर जनसरोकारका महत्त्वपूर्ण मुद्दाहरू उठाउँदै आएका छन्। सत्यतथ्य समाचार प्रस्तुत गर्ने उनको शैली र साहसकै कारण समाजका धेरै गलत अभ्यासहरू उजागर भएका छन्।
पत्रकारिता केवल पेशा नभई समाज परिवर्तनको हथियार हो भन्ने उदाहरण प्रस्तुत गर्दै आएका ढुंगानाले आफ्नो सम्पूर्ण जीवनलाई यसै क्षेत्रमा समर्पित गरेका छन्। आर्थिक कठिनाइ, पेशागत चुनौती र निरन्तर दबाबबीच पनि उनले कलम नरोकेको कुरा उनका सहकर्मी र पाठकहरूले विशेष रूपमा प्रशंसा गर्दै आएका छन्।
स्थानीयदेखि राष्ट्रिय मञ्चसम्म उनको योगदानलाई स्मरण गर्दै अब ढुंगानालाई सबै मिलेर सम्मान गर्नुपर्ने आवश्यकता बलियो रूपमा देखिएको छ। विभिन्न पत्रकार, सरोकारवाला, सामाजिक अभियन्ता तथा सचेत नागरिकहरूले “सत्य बोल्ने, सत्य लेख्ने” ढुंगानाको साहसलाई प्रेरणाको रूपमा लिनुपर्ने बताएका छन्।
वरिष्ठ पत्रकार अशेश ढुंगाना खोज पत्रकारिताको जिवित परिचय हुन्, र यस्ता पत्रकारलाई सम्मान गर्नु समाजकै हितमा हुनेछ भन्नेमा सर्वत्र एकमत देखिन्छ।