Modern technology gives us many things.

धानमा ‘ब्याक्टेरियल लिफ ब्लाइट’ रोग देखिएपछि किसानलाई सतर्क रहन आग्रह

फेटा, बारा :फेटा गाउँपालिकाको कृषि, पशुपन्छी तथा सहकारी शाखाका कृषि प्राविधिक सञ्जय कुश्वाहाले धानमा देखिने ब्याक्टेरियल लिफ ब्लाइट (BLB) रोगबारे किसानलाई सतर्क रहन आग्रह गरेका छन्।

उनका अनुसार Xanthomonas oryzae pv. oryzae नामक ब्याक्टेरियाले गर्दा धानको पात पहेंलो–खैरो हुँदै सुक्ने, उत्पादनमा ठूलो ह्रास आउने तथा कहिलेकाहीँ सम्पूर्ण बोट नै सुक्ने खतरा रहन्छ। “समयमै नियन्त्रण नगरे किसानलाई ठूलो घाटा पर्न सक्छ,” कुश्वाहाले जानकारी दिए।

कृषि प्राविधिक कुश्वाहाले किसानलाई अपनाउन सुझाएका प्रमुख नियन्त्रण उपायहरू यसप्रकार छन्–

१. खेतीपूर्व – सहनशील जात (Hardinath-1, Sabitri, Radha-4) प्रयोग गर्ने, स्वस्थ बीउ मात्र छान्ने तथा Trichoderma वा Pseudomonas fluorescens ले बीउ उपचार  गर्ने।
२. खेत व्यवस्थापन – सन्तुलित मल प्रयोग गर्ने (विशेषगरी युरियाको बढी प्रयोग नगर्ने), खेतमा लामो समय पानी जम्न नदिने, रोग लागेको पात वा बोट संकलन गरी खेतबाहिर नष्ट गर्ने।
३. जैविक नियन्त्रण – Pseudomonas fluorescens (१० ग्राम/के.जि. बीउ) ले बीउ ट्रीट गर्ने वा २–३ किलो/हेक्टर दरले माटोमा मिसाउने।
४. रासायनिक नियन्त्रण (अत्यावश्यक भएमा मात्र) – Streptocycline (१५०–२०० ppm) वा Copper oxychloride (०.२५% घोल) छर्कने। साथै बजारमा पाइने Kasugamycin र Copper hydroxide पनि प्रभावकारी हुने।
५. अन्य उपाय – रोग लागेको पराल वा अवशेष खेतमा नराखी बाहिर निकाली जलाउने वा गाड्ने, साथै रोग बढी हुने क्षेत्रमा धान–गहुँ वा दलहनसँग फसल चक्र गर्ने।

“BLB नियन्त्रणको सबैभन्दा प्रभावकारी तरिका भनेको सहनशील जात प्रयोग गर्ने, सन्तुलित मल हाल्ने, पानी व्यवस्थापन गर्ने, रोगग्रस्त पात हटाउने र आवश्यक परे मात्र विषादी प्रयोग गर्नु हो,” प्राविधिक कुश्वाहाले किसानलाई सुझाव दिएका छन्।

Leave A Reply

Your email address will not be published.