८६ प्रतिशत काम सम्पन्न

सिंहदरबारको पुतली बगैँचास्थित १७३ रोपनी ८ आना (८८ हजार २७१ वर्ग मिटर) क्षेत्रफलमा ‘इन्टरनेसनल स्टेट अफ द आर्ट’ को मोडलमा सङ्घीय संसद् भवन निर्माण भइरहेको छ । भवन विभागका महानिर्देशक महर्जनले निर्माणाधीन संसद् भवनको ८६ प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले भवन निर्माणको ठेक्का म्याद पुस १६ गतेसम्म रहेको बताउँदै सो समयभित्र निर्माण सम्पन्न गर्ने जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकाको स्थानीय वास्तुकला झल्कने किसिमले डिजाइन गरिएको निर्माणाधीन संसद् भवन परिसरको गुरुयोजना अनुसार परिसर क्षेत्रलाई भवन क्षेत्र, खुला हरियाली क्षेत्र, पार्किङ क्षेत्र र सडक पूर्वाधार क्षेत्र गरी मुख्य चार क्षेत्रमा विभाजन गरिएको छ, जसमध्ये भवन क्षेत्रले करिब २७ प्रतिशत र हरियाली क्षेत्रले ४५ प्रतिशत जग्गा ओगट्ने छ । बाँकी क्षेत्रमा सडक पूर्वाधार र ‘वाटर बडी’ रहने छन् । यस भवन परिसरको निर्माण ‘हाई–टेक’ आधुनिक इन्जिनियरिङ डिजाइन प्रविधिको आधारमा भइरहेको छ । कुल पाँच अर्ब तीन करोड (भ्याटबाहेक) लागतमा निर्माण भइरहेको यस भवनको ठेक्का नेपाली निर्माण कम्पनी टुन्डी र चिनियाँ निर्माण कम्पनी सेक (संयुक्त) ले पाएका छन् । साभार : गोरखापत्र