शिवम् साहको हत्यामा संलग्न व्यक्तिहरुको पहिचान खुल्यो,५ जनाको नाम सार्वजनिक
वीरगंजको गहवामाई मेलामा भएको सामूहिक झगडाको क्रममा मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ५ जनामाथि जिल्ला प्रहरी कार्यालयले अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकले घटनामा संलग्न प्रमुख व्यक्तिहरुको पहिचान भइसकेको जानकारी दिएका छन्। उनका अनुसार घटनास्थल र अन्य ठाउँबाट पक्राउ परेका व्यक्तिहरुमध्ये ५ जना प्रत्यक्ष रुपमा घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा १० जनालाई पक्राउ गरे पनि निर्दोषलाई फस्न नदिने विषयमा गम्भीर रहने बताएका छन्।
एसपी पाठकका अनुसार बाहिर भनिए जस्तो ‘ग्याङ फाइट’ नभएको स्पष्ट पार्दै उनले घटना घटेको २४ घण्टाभित्रै प्रहरीले मुख्य आरोपीलाई पहिचान गरी पक्राउ गर्न सफल भएको बताए।
प्रहरीले संलग्न ५ जनाको नाम समेत सार्वजनिक गरेको छ। पक्राउ परेकाहरुमा वीरगंज–२४ रामगढवाका गौतम पटेल, सोही स्थानका सुभांकर चौरसिया, अमिरी पटेल उर्फ करण पटेल, चन्दन चौरसिया र अमन पटवा रहेका छन्।
प्रहरीको भनाइअनुसार पुरानो रिस–प्रतिशोधका कारण कुटपिट गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सांघातिक आक्रमणका क्रममा कुटपिटबाट मृत्यु भएका शिवम् साह उर्फ ‘गोल्डेन’ कानुको पोष्टमार्टम रिपोर्ट अझै आउन बाँकी रहेको र थप अनुसन्धानसँगै अन्य विवरण सार्वजनिक हुने प्रहरीको भनाइ छ।
घटनास्थलबाट प्राप्त विभिन्न प्रमाण, भिडियो–फुटेज र तत्कालै पुगेको प्रहरी टोलीको सहयोगका आधारमा आरोपीहरुलाई पक्राउ गरिएको बताइएको छ। कानुलाई मुक्का र बाँसको फट्काले प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ।
प्रहरी अनुसन्धानले उनीहरुबीच पुरानो दुश्मनी रहेको तथ्य पनि पत्ता लगाएको छ। साथै, सिडिआर विश्लेषणबाट पनि अन्य संलग्न व्यक्तिहरु खोजतलास भइरहेको जानकारी दिँदै एसपी पाठकले घटनामा संलग्न कसैलाई पनि नछाडिने र सबैलाई कानुनी कटघेरामा उभ्याइने दाबी गरेका छन्। उनका अनुसार घटनाको हरेक दृष्टिकोणबाट विस्तृत अनुसन्धान भइरहेको छ।