Modern technology gives us many things.

सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा अख्तियारको अनुसन्धानमा

काठमाडौं- तीन वर्षअघि विद्युतीय चुरोट (भेप)मा लुकाएर गराइएको सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा तानिएका छन्।

अख्तियारले बिहीबार टंगालस्थित कार्यालयमा महरालाई उपस्थित गराई सो प्रकरणबारे बयान लिएको हो। महरासँगै यस प्रकरणमा संलग्न भन्सार कर्मचारी र अन्य व्यक्तिहरूसँग पनि बयान लिइएको अख्तियार स्रोतले जनाएको छ।

स्रोतका अनुसार, महराले आफ्नो बयानमा चिनियाँ नागरिक दावाजिन वाङसँग चिनजान रहेको र चिनेजानेकै आधारमा भन्सारका कर्मचारीलाई भेप छुटाउन फोन गरेको स्वीकार गरेका छन्।

महरा २०७९ सालमै सो सुन तस्करी प्रकरणमा अनुसन्धानमा तानिएका थिए। तर, सत्ता र राजनीतिक प्रभावका कारण उनीमाथि मुद्दा नचलाई अनुसन्धान रोकिएको थियो। त्यसबेला उनले प्रहरी अनुसन्धान र सरकारी वकिल कार्यालय दुवैबाट हाजिरी जमानीमा छुट पाएका थिए।

सुन तस्करी प्रकरणमा २०७९ पुस १० मा चिनियाँ नागरिक ली हानसोंगले फ्लाई दुबईमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएका ७३ वटा भेप बट्टाभित्र करिब ९ केजी सुन लुकाइएको थियो। सो सामान भन्सारमा शंकास्पद देखिएपछि गोदाममा राखिएको थियो। तर, त्यस अवधिमा गिरोहले भन्सारभित्रकै कर्मचारीको सहयोगमा सुन भएको भेप साटफेर गरी अरू भेप राखेको खुलेको थियो।

त्यो क्रममा पूर्वसभामुख महरा र उनका छोरा राहुल महराले भन्सारका कर्मचारी, तस्कर र बिचौलियासँग पटक–पटक सम्पर्क राखेको तथ्य बाहिरिएको थियो। उनीहरूले तत्कालीन भन्सार प्रशासक अरुण पोखरेललगायत कर्मचारीलाई दवाव दिई भेप छुटाउन पहल गरेको प्रमाण पनि भेटिएको बताइन्छ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले पनि महराको भूमिकालाई “सन्दिग्ध” भन्दै पुनः अनुसन्धान गर्न सिफारिस गरेको थियो। त्यसपछि सीआईबीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाए पनि सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छोडेको थियो।

अनुसन्धानका क्रममा महरा र उनका छोरा राहुलले भन्सारका कर्मचारी तथा गिरोहका सदस्यहरूसँग २५६ पटक फोन सम्पर्क गरेको विवरण फेला परेको थियो। त्यसमा दावाजिन वाङले मात्रै महरासँग ११ पटक र राहुलसँग २८ पटक सम्पर्क गरेको देखिएको थियो।

तीन वर्षअघि प्रहरीको प्रतिवेदनमा करिब ८ करोड ५५ लाख रुपैयाँ बराबरको सुन तस्करीमा महरा बाबुछोरा संलग्न रहेको उल्लेख भए पनि मुद्दा दायर गर्दा उनीहरूलाई प्रतिवादी बनाइएको थिएन।

Leave A Reply

Your email address will not be published.