Modern technology gives us many things.

पर्सामा १२ लाखभन्दा बढी मूल्यका अवैध पटाका बरामद

बीरगन्ज । दशैं–तिहारको समयमा पर्सा प्रहरीले १२ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका अवैध पटाका बरामद गरी नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भारतबाट चोरी–पसार हुँदै नेपाल भित्र्याइएका ती पटाका विभिन्न स्थानमा गस्ती तथा चेकजाँचका क्रममा फेला परेका हुन्।

प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार दशैं सुरू भएदेखि तिहारसम्मको अवधिमा वीरगञ्ज महानगरपालिका र आसपासका ग्रामीण क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाइएकाले ठूलो परिमाणमा पटाका बरामद गर्न सकिएको हो।

“दशैंदेखि तिहारबीचमा मात्रै १२ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न ब्रान्डका पटाका नियन्त्रणमा लिएका छौं,” डिएसपी बस्नेतले भने, “यी सबै पटाका मुख्यतः भारतबाट अवैध रूपमा ल्याइएका हुन्।”

उनका अनुसार जिल्ला प्रहरी कार्यालयका मातहतका प्रहरी चौकीहरू, ट्राफिक प्रहरी, र विशेष गस्ती टोलीहरूलाई सीमाक्षेत्र र बजार क्षेत्रमा नियमित निगरानीमा खटाइएको थियो। त्यस क्रममा वीरगञ्जको छपकैयाँ, सिर्सिया, रानीगंज, र इनर्वा क्षेत्रबाट उल्लेख्य मात्रामा पटाका फेला परेका थिए।

बरामद गरिएका सबै पटाका शनिबार जिल्ला प्रहरी कार्यालय पर्साको प्रांगणमा खाल्डो खनी सुरक्षित रूपमा नष्ट गरिएको प्रवक्ता बस्नेतले जानकारी दिए।

पर्सा प्रहरीका अनुसार भारतसँग खुला सिमाना भएकाले प्रत्येक वर्ष तिहार अवधिमा पटाका, विस्फोटक पदार्थ, र अन्य अवैध सामानको ओसारपसार बढ्ने गर्छ। यसलाई रोकथाम गर्न प्रहरीले सिमानाक्षेत्रमा सीसीटीभी निगरानी, चेकपोस्ट सुदृढीकरण, र साझा गस्ती कार्यक्रम सञ्चालन गरिरहेको छ।

प्रहरीले अवैध रूपमा बिक्री, वितरण वा प्रयोग हुने पटाकाले आगो लाग्ने, चोटपटक र आपराधिक गतिविधिको जोखिम बढाउने चेतावनी दिएको छ। साथै, स्थानीय व्यापारी र आम नागरिकलाई यस्ता पटाका नकिन्न, नबेच्न र प्रयोग नगर्न आग्रह गरिएको छ।

Leave A Reply

Your email address will not be published.