Modern technology gives us many things.

कटहरिया नगरपालिकामा ९ दिनदेखि तालाबन्दी, मेयर र कर्मचारीबीच तलब विवाद चर्कियो

रौतहट –जिल्लाको कटहरिया नगरपालिका यतिबेला मेयर अजय प्रकाश जयसवाल र कार्यरत कर्मचारीहरू बीच चर्किएको तलब विवादका कारण अस्तव्यस्त बनेको छ। लामो समयदेखि बक्यौता तलब र सेवा सुविधा नपाएको भन्दै अस्थायी तथा करारका कर्मचारीहरूले बिहीबार नौऔँ दिन पनि नगरपालिकाको मूल कार्यालय अगाडि टायर बालेर विरोध प्रदर्शन गरेका छन्।
कर्मचारीहरूका अनुसार यो विवाद नगर प्रमुख अजय प्रकाश जयसवालले करिब ७० जना कर्मचारीको ठाउँमा १७० जनाको नाममा तलब निकासा गर्न दबाब दिएपछि सुरु भएको हो। कर्मचारीको संख्यामा विवाद भएपछि प्रमुख प्रशासकीय अधिकृत गणेश नेपालीले तलब निकासा गर्न इन्कार गरेका थिए।
तलब भुक्तानी रोकिएपछि अस्थायी र करार कर्मचारीहरूले नगरपालिका र यसका सम्पूर्ण वडा कार्यालयहरूमा तालाबन्दी गरेका हुन्। कर्मचारीहरूले पटक-पटक मौखिक र लिखित आश्वासन दिए पनि मेयर र प्रमुख प्रशासकीय अधिकृतले कार्यान्वयन नगरेको आरोप लगाएका छन्।
कर्मचारीहरूको आन्दोलनका कारण कटहरिया नगरपालिकाको अवस्था पूर्ण रूपमा अस्तव्यस्त भएको हो । ९ दिनदेखि नगरपालिका र वडा कार्यालयहरूमा तालाबन्दी यथावत रहेकोले प्रशासनिक सेवा पूर्णरूपमा ठप्प भएको छ। यसले गर्दा हजारौँ सेवाग्राहीहरू दैनिक कामकाज र अत्यावश्यक सेवाहरूबाट वञ्चित भएका छन्।
यसैबीच मेयर अजय प्रकाश जयसवालले भने वडा अध्यक्षहरूले बिना कारण वडा कार्यालयमा तालाबन्दी गरी जनतालाई दुःख दिएको र आफू सम्पूर्ण कर्मचारीको तलब खुवाउन तयार रहेको स्पष्टीकरण दिएका छन्। उनले वडा अध्यक्षहरूले कर्मचारीको विवरण हाजिरी रजिस्टर, नियुक्तिपत्र आदि नगरपालिका कार्यालयमा नबुझाएकाले तलब भुक्तानीमा ढिलाइ भएको दाबी गरेका छन्।
मेयर जयसवालमाथि यसअघि पनि भ्रष्टाचारको मुद्दा दायर भइसकेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनले नगरपालिकामा अनावश्यक कर्मचारी मनपरी नियुक्त गरेको भन्दै परेको उजुरीमाथि समेत छानबिन गरिरहेको स्रोतले जनाए।
कर्मचारीहरूले भने आफ्नो माग पूरा नभएसम्म आन्दोलन र तालाबन्दी जारी राख्ने चेतावनी दिएका छन्। पटक-पटक आश्वासन दिइए पनि कार्यान्वयन नहुँदा अब विश्वास गर्न गाह्रो भएको उनीहरूको भनाई रहेको छ। स्थानीय सरोकारवालाहरूले कटहरियामा दोहोरिएको यो आन्दोलनलाई वित्तीय अनुशासनको कमी र प्रशासनिक समन्वयको अभावको परिणामका रूपमा लिएका छन्।
Leave A Reply

Your email address will not be published.