मधेश प्रदेशमा २ दिन नयाँ सरकार गठनको लागि आह्वान नहुने
कार्तिक २३ जनकपुरधाम ___ मधेश प्रदेशमा २ दिन नयाँ सरकार गठनको लागि आह्वान नहुने भएको छ । प्रदेश प्रमुख सुमित्रा भण्डारीले विज्ञसँग सल्लाह गर्न समय चाहिने भएको भनेकाले थप दुई दिन नयाँ सरकार गठनको प्रक्रिया अगाडि नबढ्ने भएको हो । उनले सात दलका नेता तथा प्रतिनिधिसँगको भेटघाटमा सो कुरा बताएकी छिन् । तर, संविधानअनुसार अगाडि बढ्ने उनले आश्वासन दिएको जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले जानकारी दिए । उनका अनुसार संविधान र कानुनविद्सँग परार्मश लिन दुई/तीन दिन चाहिने हुनाले नयाँ सरकार गठनका लागि तत्काल आह्वान नगर्ने बताएकी छिन् ।
सात दलका प्रतिनिधि नै किन प्रदेश प्रमुखलाई भेट्न गएको हो भन्ने प्रश्नमा सचेतक यादवले केही खबर पाएका कारण गएको बताए । ‘प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम संसदको सबैभन्दा ठूलो दललाई मुख्यमन्त्री नियुक्त गरेर काठमाडौं जान सक्ने हल्लाको कारण संयुक्त रूपमा भेटघाट गरिएको हो,’ उनले भने ।आइतबार साँझ कांग्रेस, जसपा, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले संयुक्त रूपमा प्रदेश प्रमुखलाई भेटेका हुन् ।