सन् २०२६ मा स्मार्टफोन : इन्टरनेटबिनै चल्नेछ एआई, एक हप्ता टिक्ने ब्याट्री
विश्व स्मार्टफोन उद्योग सन् २०२६ मा ठूलो परिवर्तनको चरणबाट गुज्रिँदैछ। यो वर्ष एकातिर बढ्दो मूल्यवृद्धिले उपभोक्ताका लागि चुनौती खडा गर्न सक्ने देखिन्छ भने अर्कोतिर २० हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्री र सुपर एआईजस्ता प्रविधिले भविष्यका लागि नयाँ मार्गहरू कोर्ने देखिन्छ ।
सन् २०२५ मा सामसङको ट्राइफोल्ड फोन र आइफोन १७ सिरिजले बजारमा तहल्का मच्चाएको थियो । सोही सिलसिलामा वर्ष सन् २०२६ मा पनि मोबाइल प्रयोगकर्ताले धेरै नयाँ तथा रोचक प्रविधिसँग साक्षात्कार गर्ने अवसर पाउनेछन्।
समाचार अनुसार प्रविधिप्रेमीहरूका लागि वर्षको सुरुवात केही महँगो हुन सक्छ । मेमोरी चिप्स र अन्य पाटपुर्जाको बढ्दो लागतका कारण शाओमी र सामसङजस्ता ठूला ब्रान्डहरूले आफ्ना मोबाइलको मूल्य बढाइरहेका छन् । केही स्मार्टफोन कम्पनीहरूले मूल्यलाई नियन्त्रणमा राख्न र्याम तथा अन्य फिचरहरूमा कटौती गर्ने विकल्प पनि अपनाउन सक्ने जानकारी दिएका छन् ।
हामीलाई थाहै छ कि स्मार्टफोनमा एआई प्रयोग गर्न इन्टरनेटको आवश्यकता पर्छ । तर यो वर्ष इनबिल्ट एआई प्रविधि रहेका अर्थात् मा अन–डिभाइस एआईको वर्चश्व रहनेछ । यसबाट इन्टरनेट नहुँदा पनि कृत्रिम बुद्धिमत्ता प्रयोग गर्न सकिनेछ । साथै एआई फिचरहरू फोनकै हार्डवेयरमा चल्ने भएकाले गोपनीयताको सुनिश्चितता बढ्नेछ र गति पनि तीव्र हुनेछ । साथै एआई केवल फोटो सम्पादनमै सीमित नरही यसले फोनका एप्सलाई आफैं सञ्चालन गर्नसक्ने क्षमतासमेत राख्नेछ।