Modern technology gives us many things.

कर्मचारी ढिलो आएको भन्दै गाउँपालिका उपाध्यक्षले गरिन तालाबन्दी

कर्मचारीलाई पटक-पटक दिएको निर्देशनलाई अटेरी गरेर ढिलो उपस्थित हुने गरेको भन्दै बाँकेको बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले बुधबार कार्यालयको मूल गेटमा ताला लगाएकी छन् ।

तालाबन्दीका कारण कर्मचारीहरू करिब पौने ४ घण्टासम्म बाहिरै बस्नु परेको छ । गाउँपालिकाका योजना शाखा प्रमुख डोटी नेपालीले कार्यालयको मुलढाेकामा तालाबन्दी हुँदा केही घण्टासम्म बाहिरै बस्नु परेको बताए । कर्मचारी समयमा नआएको भन्दै उपाध्यक्ष रोकायले तालाबन्दी गरेको उनले सुनाए ।

कर्मचारीले सधैं अनुशासन पालना नगर्ने प्रवृत्तिलाई बुधबार पनि निरन्तरता दिएपछि ताला लगाउन बाध्य भएको उपाध्यक्ष रोकायले बताइन । आफुले कर्मचारीलाई पर्खिदा नआएपछि बुधबार बिहान १०: १७ बजे मुलढाेकाको च्यानल गेटमा ताला लगाएको बताइन् । आफुले तालाबन्दी गर्दा कार्यालयको कुनैपनि शाखा प्रमुख तथा कर्मचारी नआएको उनको जिकिर छ ।

‘गाउँपालिका अध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा र प्रशासन शाखा प्रमुख चाहिँ तालिममा जानू भएको छ, उहाँहरू बाहेक अरु कोही पनि शाखा प्रमुख समयमै कार्यालयमा उपस्थित हुनु भएन’, उनले भनिन ‘अटेरी गर्नेको पनि हद हुन्छ नि ।’

तालाबन्दीका कारण करिब पौने ४ घण्टासम्म बाहिर बसेका कर्मचारीहरूले अब समयमै कार्यालयमा आउने प्रतिबद्धता जनाएपछि दिउँसो २ बजे आफै ताला खोलेको उपाध्यक्ष रोकायले बताइन ।

गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले आफू तालिममा रहेकाले कार्यालयमा तालाबन्दी भएको भन्ने कुरा सुनेको बताएका छन् ।

Leave A Reply

Your email address will not be published.