सिम्रौनगढ नगरपालिकामा मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच विवाद प्रहरीमा उजुरी दर्ता

बारा । सिम्रौनगढ नगरपालिकामा मेयर किशोरीप्रसाद साह कलवार र प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवालबीचको चर्किएको विवादले नगरपालिकाको प्रशासनिक कामकाजमा गम्भीर असर पारेको छ।

दुवै पदाधिकारीबीचको आपसी विश्वासको अभाव, टकराव र कुटपिटको आरोपसँगै सेवा प्रवाह लगभग ठप्प अवस्थामा पुगेको छ। नगरवासी आवश्यक सेवा लिनबाट वञ्चित हुन थालेका छन् भने विकास योजनाको कार्यान्वयनमा समेत ठुलो बाधा पुगेको छ।

प्रशासकीय अधिकृत जयसवालले मेयर कलवारमाथि हातपात गरेको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दर्ता गरेका छन्। उनका अनुसार, कानुनी प्रक्रिया अवलम्बन नगरी लाखौँ रुपैयाँ भुक्तानी गर्न दबाब दिएको र अस्वीकार गरेपछि मेयर निवासमा बोलाएर कुटपिट गरिएको हो।उनले गढीमाई मेलाका लागि कार्यपालिका बोर्डले स्वीकृत १० लाख रुपैयाँबाहेक थप २७ लाख मेलामा, १५ लाख वृक्षारोपणमा, १० लाख ऐतिहासिक समारोहमा र १९ लाख सरसफाइमा भुक्तानी गर्न दबाब दिएको दाबी गरेका छन्। “कानुनविपरीत रकम निकासा गर्न नमानेपछि शारीरिक आक्रमण भयो,” उनले आरोप लगाए।यो घटनापछि नगरपालिकाका कर्मचारीहरू आन्दोलित बनेका छन्। १३ गतेदेखि कालोपट्टी बाँधेर काम गरिरहेका उनीहरूले दोषीमाथि कारबाही नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

नगरपालिकाकी उपप्रमुख नजमु शेहरले प्रशासनिक कामकाज अवरुद्ध हुँदा योजनाहरू अघि नबढेको र वर्तमान आर्थिक वर्ष सकिन अब दुई महिना मात्र बाँकी रहेको अवस्थामा ठूलो मात्रामा बजेट फ्रिज हुने खतरा रहेको बताइन्।

उनले दुई महिनाअघि योजनाशाखा प्रमुख नन्दकिशोरमाथि पनि हातपात भएको घटनालाई स्मरण गर्दै, कर्मचारीमाथि निरन्तर आक्रमण हुनु निन्दनीय भएको बताइन्।

सूचना अधिकारी सुरेश यादवका अनुसार, जनप्रतिनिधि र कर्मचारीबीचको विवादले सामान्य सेवा प्रवाहमा समेत असर परेको छ। मेयर कलवारसँग प्रतिक्रिया लिन प्रयास गरिए पनि उनी सम्पर्कमा आउन सकेनन्।

नगरको विकासमा गम्भीर असर पार्नेगरी विकसित यस विवादलाई तत्काल समाधान गर्न स्थानीय नागरिक र सरोकारवाला निकायले आग्रह गरेका छन्।

Comments (0)
Add Comment