अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले टेरामक्स घोटाला प्रकरणमा संलग्न भएको ठहर गर्दै प्रतिनिधिसभाका सांसद समेत रहेका बस्नेत, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत गरी १६ जनाविरुद्ध आज विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।उनीविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर भएको हो।
यसैगरी सोही प्रकरणमा मुछिएका नेपाल दूरसञ्चार प्राधिकरणका तल्कालीन अध्यक्ष दिगम्बर झा,प्राधिकरणका तत्कालीन सदस्य धनराज ज्ञवाली र टीका प्रसाद उप्रेती,तत्काली अध्यक्ष पुरुषोत्तम खनाल,प्राधिकरणका निर्देशक विजय कुमार राय,उपनिर्देशक रेवती राय पन्थ,उपनिर्देशक सुरेश बस्नेत,उपनिर्देशक हिरण्य प्रसाद वस्ताकोटी र उपनिर्देशक अच्यु्तानन्द मिश्र,निर्देशक सुरेन्द्रलाल हाडा,निर्देशक दिपेश आचार्य र उपनिर्देशक संदिप अधिकारीविरुद्ध मुद्दा दायर भएको हो। यसैगरी परामर्शदाता Vanrise Solutions Sal (Offshore) र सोका मुख्य व्यक्ति CEO Jamal Anouti,Vanrise Solutions SAl (Offshore) को Local Agent भनिएको Connection Trade Ling Pvt,LTd Kathmandu र सोका अध्यक्ष दिलिप कुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेजविरुद्ध आरोप पत्र दायर भएको अख्तियारले जनाएको छ।
‘नेपाल दूरसञ्चार प्राधिकरणले Telecommunication Traffic Monitoring and Fraud Control System (TERAMOCS) को खरिद कार्यमा परामर्शदाताको छनौट गर्दा योग्यता नपुग्ने प्रस्तावदाताको गलत प्रतिवेदन तयार गरी Request for Proposal मा सहभागी गराई छनौट गरी अनियमितता गरेको र Telecommunication Traffic Monitoring and Fraud Control System सञ्चालन तथा नियन्त्रण गर्न पाउने सो प्रणाली सर्वोच्च अदालतबाट उत्प्रेषणयुक्त परमादेश रिट निवेदनमा भएको आदेश अनुकुलको कुनै कानूनी व्यवस्था नगरी नागरिकको व्यक्तिगत सूचनामा पहुँच पाउने गरी अनधिकृत तबरमा संरचना स्थापना गर्न राज्यको सम्पत्तिको दुरुपयोग गरी हानिनोक्सानी पुयाई भ्रष्टाचार गरेको भन्ने समेत व्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा नेपाल दूरसञ्चार नियमावली,२०५४ को दफा ३४ग बमोजिम प्राधिकरणले आ.व. २०७४/७५ को वार्षिक कार्यक्रम सहमतिको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएकोमा प्राधिकरणको प्रस्तावित कार्यक्रममा समावेश नभएको TERAMOCS को विषयमा तत्कालीन मन्त्री बस्नेतले आफ्नो क्षेत्राधिकार बाहिर गई एकल रुपमा निर्णय गरी कार्यान्वयनको लागि निर्देशन दिएको र सोही निर्देशन अनुसार नेपाल दुरसञ्चार प्राधिकरणका तत्कालीन पदाधिकारीहरुले एक आपसमा मिलेमतो गरी सम्मानित सर्वोच्च अदालतबाट रिट नं.०६९- WO-०२६८ का सम्बन्धमा मिति २०७२/१०/२१ मा जारी भएको आदेशको प्रतिकूल र प्रचलित कानुन विपरीत निम्न कार्यहरु गरी गराई सार्वजनिक संस्था नेपाल दुरसञ्चार प्राधिकरणलाई हानिनोक्सानी गर्ने / गराउने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि भएकाले उनीहरूविरूद्ध मुद्दा दायर भएको हो,’आरोप पत्रमा उल्लेख छ।