बारा कलैया रौतहट, असोज २२ । विश्व दृष्टि दिवसको अवसरमा गौर आँखा अस्पतालले रौतहटमा कार्यरत ट्राफिक प्रहरीलाई चस्मा वितरण गरेको छ।
सवारी व्यवस्थापन तथा सडक सुरक्षामा दिनहुँ घाम, धुलो र धुवाँको प्रत्यक्ष सामना गर्दै ड्युटीमा खटिने ट्राफिक प्रहरीको आँखाको सुरक्षालाई ध्यानमा राख्दै अस्पतालले चस्मा वितरण गरेको हो।
कार्यक्रमका क्रममा गौर आँखा अस्पतालका प्रतिनिधिहरूले ट्राफिक प्रहरीलाई चस्मा हस्तान्तरण गरेका थिए। आँखाको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले सडकमा खटिने ट्राफिक प्रहरीको स्वास्थ्य सुरक्षामा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
विश्व दृष्टि दिवसको अवसरमा आँखाको नियमित परीक्षण, आँखाको सुरक्षा तथा दृष्टि स्वास्थ्यप्रति सर्वसाधारणलाई सचेत गराउने विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।