स्थानीय हाट बजारमा मानव स्वास्थ्यलाई तत्काल असर गर्ने प्रतिबन्धित ग्याँस प्रयोगमार्फत् समय अगावै फलफूल पकाएर गरिने बिक्री वितरणलाई निरुत्साहित गर्न सिरहाको लहान क्षेत्रका ठूला मानिने फलफूल पसल अनुगमन गरिएको छ ।
लहानको पूर्व पश्चिम सडक खण्डमा पर्ने १० वटा फलफूल पसलको आइतबार अनुगमन गरी फलफूल पकाउन प्रतिबन्धित क्याल्सियम कार्बाइड प्रयोग गरे नगरेको हेरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका खाद्य निरीक्षण अधिकारी राजिन बुढाथोकीले जानकारी दिए ।
इलाका प्रशासन कर्यालय लहानका प्रशासकीय अधिकृत सन्तोष राय, लहान नगरपालिका कृषि विकास शाखा प्रमुख प्रकाश साह, सुरक्षाकर्मी तथा नेपाल पत्रकार महासंघका प्रतिनिधि सम्मिलित टोलीले स्थानीय शुभलक्ष्मी, सुमित, लक्ष्मी, शिवबाबा, मा भवानी, शिव, जय श्री माता, मा जगदम्बासहित १० वटा फलफूल पसल अनुगमन गरेको उनले बताए ।
उनका अनुसार फलफूलमध्ये मुख्य मानिने आँपको सिजनमा बढी मुनाफाका लागि छिटो पकाउन व्यापारीहरुले विभिन्न ठाउँमा प्रतिबन्धित कार्बाइड/एसिटाइलिनी ग्याँको प्रयोग गरी बिक्री वितरण गरेको पाइएकाले अनुगमन गरिएको हो ।
‘लहान क्षेत्रमा अनुगमन गर्दा समय अगावै फलफूल पकाउन तत्काल र दीर्घकालीन रुपले मानव स्वास्थ्यका लागि हानिकारक मानिने क्याल्सियम कार्बाइड प्रयोग गरेको त पाइएन’ उनले भने ‘तथापि नेपाल सरकारले त्यसको प्रयोगमा लगाएको प्रतिबन्ध, मानव स्वास्थ्यमा पार्ने असर, कानुनी दण्ड सजायको बारेमा व्यापारीहरुलाई सचेत गराइएको छ ।’
लहान नगरका कृषि विकास शाखा प्रमुख साहका अनुसार फलफूल पसल संचालकहरुले फलफूलमा प्राकृतिक हर्मोनको रुपमा प्रयोग गरिने इथाइलिन न्यून मात्रमा प्रयोग गरिरहेको पाइएको जानकारी दिंदै त्यसले मानव स्वास्थ्यमा हानि नपुर्याउने बताए । ‘पाक्ने समय भएपछि प्राकृतिक रुपले फलफूल भित्रबाट पनि इथाइलिन उत्पादन हुन्छ’ उनले भने ‘तर पाक्नु भन्दा केही समय अघि नै त्यो प्रयोग गर्दा त्यति फरक पर्दैन ।’
लहान क्षेत्र आँप खरिद र बिक्री वितरण गरी अन्यत्र पठाउने मुख्य ठाउँ भएकाले लहानलाई लक्षित गरी अनुगमन गरिएको इलाका प्रकाशन प्रशाकीय अधिकृत रायले बताए । ‘डिभिजनसँगको सहकार्यमा अनुगमन निरन्तर रहने छ’ उनले भने ।
यस्तो छ कानुनी व्यवस्था
उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद ४, दफा १८ अनुसार जानी जानी कमसल बस्तुको उत्पादन, बिक्री वा पैठारी गर्न, बस्तु वा सेवाको गुणस्तर ढाँटी झुक्याई बिक्री गर्ने, उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर गर्ने वस्तु वा सेवा उत्पादन वा बिक्री गर्न बन्देज लगाइएको छ ।
त्यस्तै, एकै प्रकृतिका विभिन्न वस्तुहरु उत्पादन, पैठारी वा बिक्री गर्न व्यापारी वा व्यापारी समूहहरु मिली त्यस्तो वस्तुको अभाव सिर्जना गरी मूल्य वा आपूर्ति व्यवस्था प्रभाव पार्ने, एकै प्रकृतिका कुनै सेवा प्रदान गर्ने एक भन्दा बढी व्यापारी वा व्यापारिक समूहको मिलेमतोबाट चक्र प्रणाली कोटा प्रणाली, आलोपालो प्रणाली अपनाई सेवा संचालन गर्ने, एउटा वस्तु खरिद गर्दा अर्को वस्तु खरिद गर्नुपर्ने व्यवस्था गर्न बन्देज लगाइएको छ ।
ऐनमा बन्देज लगाइएका काम गर्ने व्यपारी वा व्यापारिक समूहलाई तीन महिनादेखि एक वर्षसम्म कैद सजाय वा एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ । विभिन्न अनुसन्धान अनुसार क्याल्सियम कार्बाइडमा मानव स्वास्थ्यमा तत्काल र दीर्घकालीन रुपमा गम्भिर असर निम्याउने आर्सेनिक तथा केभि मेटल्सको संक्रमण पाइएको छ । खाद्य नियमावली २०२७ को नियम १९ को उपनियम (घ) बमोजिम कारर्बाइड एसिटाइलिनी ग्याँस प्रयोग गर्न प्रतिबन्ध गलाइएको छ ।