भारत सरकारले बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ मा अवस्थित श्री बेंगा साह माध्यमिक विद्यालयको पूर्वाधार विकासका लागि ५ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
यस परियोजनासम्बन्धी औपचारिक सम्झौतापत्रमा आज काठमाडौंमा भारतीय दूतावास र प्रसौनी गाउँपालिकाका प्रमुखबीच हस्ताक्षर भएको छ। सम्झौता पश्चात गाउँपालिकाका अध्यक्ष विनोद जयसवालले जानकारी दिएका छन् कि उक्त सहयोगले विद्यालयको शैक्षिक वातावरणमा गुणात्मक सुधार आउने विश्वास लिइएको छ।
सहयोग परियोजना अन्तर्गत विद्यालयमा तीनतले शैक्षिक भवन, छात्रावास (होस्टल), पुस्तकालय, प्रशस्त कक्षा कोठा, शौचालय, सरसफाइ तथा सुरक्षित खानेपानीको व्यवस्था, विद्युत जडान, फर्निचर तथा कम्प्युटरलगायत आवश्यक सामग्रीहरू उपलब्ध गराइनेछ।
प्रसौनी गाउँमा अवस्थित श्री बेंगा साह माध्यमिक विद्यालयमा बाल विकासदेखि कक्षा १२ सम्म अध्ययन हुने गर्दछ। विद्यालयमा हाल करिब २४०० विद्यार्थीहरू अध्ययनरत छन्, जसमा ५० प्रतिशतभन्दा बढी छात्राहरू छन्। यो परियोजना कार्यान्वयनको जिम्मेवारी प्रसौनी गाउँपालिकाले नै लिनेछ भने टेण्डर प्रक्रियापछि १५ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
उक्त सम्झौता काठमाडौंस्थित भारतीय राजदूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा विभिन्न स्थानीय परियोजना कार्यान्वयन निकायहरूको सहभागितामा सम्पन्न पाँचवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनामध्ये एक हो। पाँच परियोजनाहरूको कुल अनुमानित लागत ३९ करोड रुपैयाँ रहेको छ।
ती परियोजनामध्ये तीनवटा मधेश प्रदेशका पर्सा, बारा र धनुषा जिल्लामा केन्द्रित छन्। पर्सा जिल्लाको पोखरिया नगरपालिका–६ मा रहेको एक विद्यालयका लागि १० करोड ४२ लाख रुपैयाँ सहयोग उपलब्ध गराइनेछ। सो विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म ६५० विद्यार्थी अध्ययनरत छन्। त्यहाँ तीनतले भवन, प्रशासनिक ब्लक, गेट, गार्ड हाउस, शौचालय, पर्खाल, ल्यान्डस्केपिङ, खानेपानी, विद्युत र फर्निचर, ल्याब उपकरण निर्माण तथा व्यवस्थापन गरिनेछ।
त्यस्तै, धनुषाको बटेश्वर गाउँपालिका–३ मा रहेको श्री जनशक्ति माध्यमिक विद्यालयको पूर्वाधार निर्माणका लागि भारतले ५ करोड ८० लाख रुपैयाँ सहयोग गर्नेछ। हाल प्लेग्रुपदेखि कक्षा १० सम्म ३४० विद्यार्थी अध्ययनरत यस विद्यालयको भौतिक पूर्वाधारलाई सुदृढ पार्ने उद्देश्य लिइएको छ।