कलैया, बारा श्रावण ६ :अचानक जान्छ, आउँदैन समयमै, कहिले झिमिक-झिमिक त कहिले पूरा गायब विद्युत् सेवाको यो अस्थिरताले बाराका सर्वसाधारणको दैनिकी अस्तव्यस्त बनाएको छ। कलैया देखि फेटा गाउँपालिका हुँदै सिम्रनगढसम्मका बासिन्दा अब आक्रोशको सीमामा पुगेका छन्।
“यो त धेरै भयो! दुई तीन दिन देखि र हिजो रातभरि बिजुली थिएन, मोबाइल चार्ज पनि भएन, पंखा पनि चलेन्न। अब त जूता हान्नुपर्ने अवस्था आयो,” फेटा गाउपालिकाको वार्ड ७ टाेल कुकुरभुकाको स्थानीय बासिन्दा प्रदीप साहले भन्छन्।
सामान्य उपभोक्ताबाट लिएर व्यापारी, किसान, विद्यार्थी र अस्पतालसम्म विद्युत् अव्यवस्थाले असर पारेको छ। फेटा–७ का एक पसले सुनाउँछन्, “फ्रिज चलेन, सामान बिग्रियो। १५ हजारको नोक्सानी भयो। कसको मुख हेर्ने?”
घण्टौंसम्म अन्धकार, जिम्मेवारी कोही लिँदैन
विभागमा गुनासो गर्दा कहिले “लाइन सर्ट भयो”, कहिले “ट्रान्सफर्मर बिग्रेको”, कहिले “मुख्य केन्द्रबाट सप्लाई रोकिएको” जस्ता बहाना सुनिन्छन्। तर समाधान कहिल्यै देखिँदैन।
“नाटक मात्र देखाउँछन्, समाधान कहिल्यै गर्दैनन्,” स्थानीय युवाको भनाइ छ, “अब त हामीले खाली गुनासो हैन, कारबाहीको माग गर्नुपर्छ — आवश्यक परे आन्दोलन पनि!”
नागरिक आवाज: जवाफदेही व्यवस्था चाहिन्छ
स्थानीय तह, वितरण केन्द्र तथा ऊर्जा मन्त्रालयसम्म यस समस्याको स्थायी समाधानका लागि तत्काल ध्यान नदिए, सर्वसाधारण सडकमा उत्रने चेतावनी दिन थालेका छन्।
अन्त्यमा एक वृद्ध आमाले भनिन्, “बिजुली त नआए पनि हुन्छ, तर झूट बोलेर जनतालाई बेवकुफ बनाउने यो नाटक अब बन्द होस्। जूता लगाएर सम्झाउनुपर्ने अवस्था बनिसक्यो।”