बागमतीमा तीन नयाँ मन्त्री नियुक्त हुने तयारी, आजै शपथको कार्यक्रम

बागमती प्रदेशमा तीन जना सांसदलाई मन्त्री नियुक्त गर्ने तयारी भइरहेको छ। प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नयाँ मन्त्री नियुक्त गर्ने प्रक्रिया अगाडि बढाएको उनका प्रमुख स्वकीय सचिव छत्रबहादुर लामाले जानकारी दिएका छन्।

मुख्यमन्त्री लामाले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट विश्वास गुमाइसकेका छन्। त्यसको केही दिनमै नयाँ मन्त्री नियुक्त गर्न लागिएको हो। नियुक्तिका लागि चितवनका दुई जना र धादिङका एक जना सांसदको नाम तय भएको छ।

धादिङका सांसद गोविन्द लम्साललाई आन्तरिक तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइनेछ भने चितवनकी सांसद माया श्रेष्ठलाई सहकारी तथा गीता गुरुङलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने तयारी छ।

उनीहरूलाई आजै बिहान ११ बजेसम्म शपथ दिलाउने कार्यक्रम रहेको स्वकीय सचिव लामाले बताए।

बागमती प्रदेश सरकारमा कांग्रेसले सम्हालिरहेको पाँच मन्त्रालयमध्ये केही समयदेखि मन्त्री रिक्त थिए। साउन ९ गते चार जना र १३ साउनमा एक जना मन्त्रीले राजीनामा दिएपछि ती पद रिक्त भएका थिए। ती मन्त्रीहरूले मुख्यमन्त्री लामाविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर समेत गरेका थिए।

यस कदमलाई लामाको पुनः राजनीतिक पकड जमाउने प्रयासका रूपमा हेरिएको छ।

Comments (0)
Add Comment