मधेसमा पानी परेपछि किसान हर्षित, धानबाली जोगिनेमा आशावादी

डेढ महिनाको खडेरीपछि सप्तरीसहित मधेश प्रदेशभर वर्षा भएपछि किसानहरुमा हर्षको लहर फैलिएको छ। शनिबार साँझदेखि भएको वर्षाले आकाशे भरमा निर्भर खेती गर्दै आएका किसानको अनुहारमा मुस्कान फर्किएको छ।

साउनको तेस्रो हप्ता बितिसक्दा पनि पर्याप्त वर्षा नभएकाले धान रोप्ने समय कट्न थालेको र रोपिएको धान समेत सुक्न थालेपछि किसानहरु चिन्तित थिए। तर शनिबारदेखि परेको पानीले उनीहरुमा राहत ल्याएको छ।

रुपनी गाउँपालिका–४ का किसान भगवती प्रसाद साहले वर्षाले खेतमा मात्र नभई मनमा समेत हरियाली छाएको प्रतिक्रिया दिनुभयो। “अब रोपाइँ गर्ने सम्भावना कम भए पनि रोपिएको धानबालीलाई बचाउन ठूलो मद्दत पुगेको छ,” उहाँले भन्नुभयो।

त्यसैगरी, रामरतन यादवले मोटरको सहायताले पाँच कठ्ठा जमिनमा रोपाइँ गरे पनि पानी नपरेर बाली सुक्दै गएको बताउनुभयो। “पानीको लेयर घटेकाले सिँचाइ गर्नै सकिएको थिएन, तर एकै दिनमा वर्षाले खेतको स्वरुप नै फेरिएको छ,” उहाँले खुशी व्यक्त गर्नुभयो।

सप्तरीमा कुल ८१ हजार ६६८ हेक्टर खेतीयोग्य जमिनमध्ये करिब ६८ हजार हेक्टरमा धान रोपिँदै आए पनि पर्याप्त वर्षा नहुँदा हालसम्म केवल ४० प्रतिशत जमिनमा मात्र रोपाइँ भएको कृषि कार्यालयले जनाएको छ।

मधेश प्रदेशभर भने हालसम्म ५७.२७ प्रतिशत खेतीयोग्य जमिनमा धान रोपाइँ सम्पन्न भएको छ। मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार पाँच लाख ४२ हजार ५८०.७८ हेक्टर खेतीयोग्य जमिनमध्ये तीन लाख ७२ हजार ६४५ हेक्टरमा धान रोप्ने गरिँदै आएको छ। तर हालसम्म दुई लाख १३ हजार ३४८.९५ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ।

रुपनीका किसान धनेश्वर मण्डलले वर्षा जारी रहे थप २०–२५ प्रतिशत जमिनमा अझै रोपाइँ सम्भव रहेको बताउनुभयो। मौसम पूर्वानुमानअनुसार आइतबार पनि वर्षाको सम्भावना रहेकाले किसानहरु अझै रोपाइँको तयारीमा जुटिरहेका छन्

Comments (0)
Add Comment