सप्तरीमा प्रहरी र तस्कर समूहबीच झडप, प्रहरीको गोली लागी एकजनाको मृत्यु

सप्तरी, साउन २१ : सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार राति तस्कर समूह र सुरक्षाकर्मीबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक स्थानीय युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार सिमानाक्षेत्रमा तस्करी भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोली गस्तीमा गएको थियो। उक्त क्रममा स्थानीय समूहले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो।

गोली लागेर घाइते भएका अन्दाजी ३६ वर्षीय लालु यादवलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज लगिएको भए पनि उपचारकै क्रममा उनको ज्यान गएको बस्नेतले जानकारी दिए।

घटनामा एकजना प्रहरी पनि घाइते भएको प्रहरीले जनाएको छ। यस्तै, झडपपछि भारततर्फ तस्करी गर्न लागिएको केही कार्टुन मदिरा पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सुरक्षा अवस्था अहिले नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments (0)
Add Comment