वीरगञ्ज २४ साउन: नेपालकै एकमात्र भोजपुरी भाषाको पत्रिका भोजपुरी टाइम्स दैनिक ले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा खाद्यान्न तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।
शुक्रबार वीरगञ्ज आदर्शनगरस्थित आमाको माया छात्रावासमा आयोजित कार्यक्रममा प्रकाशक अजय चौरसियाको अध्यक्षता रही, प्रमुख अतिथि नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा रहेका थिए।
विशिष्ट अतिथिमा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, महासंघका केन्द्रीय सदस्य राधव साह र प्रेस सेन्टर मधेस प्रदेशका अध्यक्ष निरज पिठाकोटेको उपस्थिति रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य कार्यकारी सम्पादक श्रवण साहले प्रस्तुत गर्दै पत्रिकाले सुरुदेखि नै जनताको आवाज, स्थानीय भाषा, संस्कृति र कलाको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर योगदान दिएको उल्लेख गरे। उनले संस्थापक समूहको अथक परिश्रमले पत्रिकालाई आजको स्तरमा पुर्याएको बताउँदै आगामी दिनमा पनि जनहितमुखी पत्रकारितामा प्रतिबद्ध रहने आश्वासन दिए।
कार्यक्रमअन्तर्गत छात्रावासमा चामल, दाल, तेल, चाउचाउ, बिस्कुटजस्ता खाद्यान्न र कपी, पेन्सिललगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो।
वक्ताहरुले भोजपुरी टाइम्स दैनिक ले पत्रकारिता क्षेत्रमा देखाएको प्रतिबद्धता, मधेसको सांस्कृतिक पहिचानको संरक्षणमा पुर्याएको योगदान तथा सामाजिक उत्तरदायित्वप्रतिको संवेदनशीलताको प्रशंसा गरे।
समापन मन्तव्यमा प्रकाशक चौरसियाले महँगो होटलमा खर्चिलो समारोह नगरी विगतका केही वर्षदेखि सहयोग आवश्यक ठानेका स्थानमा सहयोग गर्दै वार्षिकोत्सव मनाउँदै आएको बताए। उनले यस अभ्यासले पत्रिकाको सामाजिक जिम्मेवारीलाई थप सुदृढ बनाएको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोग र सेवा भावलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको सञ्चालन श्याम सर्राफले गरेका थिए।