फेटा, बारा : फेटा गाउँपालिकाको कृषि, पशुपन्छी तथा सहकारी शाखाका कृषि प्राविधिक सञ्जय कुश्वाहाले बिहिवार फेटा–३ स्थित किसान रामजिवन महतो धनुकको धानबाली अनुगमन गर्ने क्रममा धान खेतमा खैरा रोग (जिङ्क तत्वको कमी) व्यापक रूपमा देखिएको जानकारी दिएका छन्।
कुश्वाहाका अनुसार क्षारीय माटो, फस्फोरस र क्याल्सियमको बढी मात्रा, साथै लामो समयसम्म चिसो र भिजेको माटो खैरा रोग देखिनुको मुख्य कारण हुन्।
व्यवस्थापनका उपाय
– नाइट्रोजन र फस्फोरस मल सिफारिस मात्रामा प्रयोग गर्ने।
– जिङ्क र फस्फोरस मल एउटै समयमा प्रयोग नगर्ने।
– खेतमा पानीको उचित निकासको व्यवस्था गर्ने।
– रोपाइँ अघि प्रति हेक्टर २०–२५ किलो जिङ्क सल्फेट प्रयोग गर्ने (कम्तीमा ३ वर्षसम्म पुनः आवश्यक पर्दैन)।
– समस्या देखिएमा प्रति ५० लिटर पानीमा २० ग्राम जिङ्क सल्फेट र १२ ग्राम चुन मिसाई एक रोपनीमा छर्ने, आवश्यक भए १०–१२ दिनको फरकमा दुई पटकसम्म प्रयोग गर्ने।
– बजारमा पाइने चेलामिन (जिंक मिक्चर) २ ग्राम प्रति लिटर पानीको दरले छर्किन सकिने।
– बेर्ना रोप्नु अघि जरालाई २% जिङ्क अक्साइडको झोलमा १०–१५ मिनेट डुबाएर लगाउने।
अन्य समस्या र नियन्त्रण
फेटा क्षेत्रमा धानमा मरुवा रोग (Blast disease), खैरो रोग (Brown spot) र पात बेरुवा किरा (Leaf folder) सामान्य समस्या रहेको प्राविधिक कुश्वाहाले बताए।
१. मरुवा रोग (Blast disease)
लक्षण : पातमा टाउकोजस्तो वा आँखाजस्तो दाग देखिनु, दाना भर्ने बेलामा टाउकोमै असर गरी पूरै बाल झर्ने।
नियन्त्रण : प्रतिरोधी जात प्रयोग गर्ने, नाइट्रोजन मल सन्तुलित प्रयोग गर्ने, बीउलाई Tricyclazole वा Carbendazim मा उपचार गर्ने, रोग देखिएपछि हेक्साकोनोजल ५इ.सि (१.५-२ मि.ग्रा/लिटर पानी) वा भेलीडामाइसिन ३ इ.सि (२ मिली/लिटर पानी) छर्किन सकिने।
२. पात बेरुवा किरा (Leaf folder)
लक्षण : किराले पातलाई बेरिदिने र भित्रै बसेर खान्ने, जसले पातमा सेतो–खालि भाग देखिने र उत्पादन घटाउने।
नियन्त्रण : खेतमा झाडी र खरपतवार हटाउने, प्रकाश फन्दा प्रयोग गर्ने, Trichogramma कीरा प्रयोग गरेर जैविक नियन्त्रण गर्ने, आवश्यक परे Lambda-cyhalothrin वा Cartap hydrochloride प्रयोग गर्ने।
कृषि प्राविधिक कुश्वाहाले किसानलाई रोग–कीराको समयमै पहिचान गरी सिफारिस गरिएको उपाय अपनाउन आग्रह गरेका छन्।