मानमत–कलैया–मटिअर्वा सडक अलपत्र पार्ने ठेकेदारलाई सोधियो १५ दिने स्पष्टीकरण, ठेक्का तोड्ने सम्म चेतावनी

बारा । बाराको सदरमुकाम कलैयास्थित मानमत–कलैया–मटिअर्वा हुलाकी सडक खण्डअन्तर्गत पर्ने कलैया बजार क्षेत्रको करिब साढे ३ किलोमिटर सडक निर्माण कार्यमा ढिलाइ गरेको भन्दै वीरगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयले ठेकेदार कम्पनीलाई कडा चेतावनी दिएको छ ।
निर्देशनालयले श्री सप्तकोसी जलाधार–ओम साई एन्ड कम्पनी जेभीलाई ठेक्का सम्झौता रद्द गर्ने सम्भावनासहित १५ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।
असोज ३१ गते जारी सूचनामा निर्देशनालयले ठेकेदार कम्पनीले पटक–पटक सम्झौता मिति र निर्देशनहरू उल्लङ्घन गरी काममा ढिलाइ गरेको उल्लेख गर्दै ठेक्का सम्झौता किन रद्द नगर्ने भन्ने विषयमा कारण बताउन चेतावनी दिएको छ । सडक खण्डअन्तर्गत पर्ने कलैया बजार क्षेत्रको साढे ३ किलोमिटर सडक निर्माणको जिम्मा पाएको उक्त कम्पनीको प्रगति असन्तोष जनक रहेको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार, ठेकेदार कम्पनीले तोकिएको समय सीमाभित्र काम अगाडि नबढाउँदा स्थानीयवासी र व्यवसायीहरूले धुलो र हिलामयको सास्ती खेप्नुपरेको छ ।
निर्देशनालयले ठेकेदारलाई १५ दिनभित्र स्पष्ट कारणसहित स्पष्टीकरण पेस गर्न र निर्माण कार्य तत्काल अगाडि बढाउन निर्देशन दिएको छ । तोकिएको समयमा सन्तोषजनक जवाफ नदिइएमा वा काम सुरु नभएमा सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९, सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११८ र सम्झौता धारा ७२.१ बमोजिम आवश्यक कारबाही अघि बढाइने सूचनामा स्पष्ट उल्लेख छ । ठेक्का सम्झौता रद्दसम्मको प्रावधान समावेश छ ।
यसैबिच स्थानीय युवाहरूले सडक निर्माणको माग गर्दै हस्ताक्षर अभियानसमेत सञ्चालन गरेका छन् । एक दशकदेखि अलपत्र रहँदा स्थानीयवासीले आक्रोश व्यक्त गर्दै हस्ताक्षर अभियान सुरु गरेका हुन् ।
शुक्रवार साँझदेखि सुरु भएको हस्ताक्षर अभियानमा हालसम्म २५० भन्दा बढी स्थानीयवासीले सहभागिता जनाइसकेका छन् । अभियानको नेतृत्व स्वतन्त्र युवाहरू सौरभ चौगाइ, सौरभ पाण्डे, सुमित पटेल, बिक्की गुप्ता, सुरज साह, अमित तिवारी, सञ्जय चौधरीलगायतले गरेका छन् ।
अभियानका अगुवा सौरभ चौगाइले सडक निर्माणमा भएको ढिलाइप्रति गहिरो चिन्ता व्यक्त गरे । उनले भने, “यो सडक हाम्रो बजारको मुख्य हिस्सा हो, तर वर्षौँदेखि अधुरो छ। ठेक्का लागेको धेरै समय बितिसक्दा पनि काम अगाडि बढेको छैन । धुलो र हिलोले स्थानीयवासी र व्यवसायीहरूको दैनिकी कठिन भएको छ। हामीले यो अभियानमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौँ ।”
सडक निर्माणमा भएको ढिलाइले बजार क्षेत्रका व्यवसायीहरूको व्यापारमा समेत नकारात्मक असर परेको छ । धुलो र असुविधाले ग्राहकहरूको आवागमन घट्दा व्यवसायीहरू मारमा परेका छन् । स्थानीयवासीहरूले सडक निर्माण कार्य तत्काल अगाडि बढाउन र समस्याको समाधान गर्न माग गरेका छन् ।
हस्ताक्षर अभियानमा सहभागीहरूले सडक निर्माण सम्पन्न नहुँदासम्म आफ्नो आन्दोलन जारी राख्ने बताएका छन् । उनीहरूले सम्बन्धित निकायसँग तत्काल ठोस कदम चाल्न र सडक निर्माण कार्यलाई पूर्णता दिन आग्रह गरेका छन् ।
Comments (0)
Add Comment