काठमाडौँ ३ कार्तिक : प्रधानमन्त्री सुशीला कार्कीले हिन्दु धर्मावलम्बीहरुको महान् पर्व दिपावली र मधेसमा विशेष रूपमा मनाइने छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई मंगलमय शुभकामना व्यक्त गरेकी छिन्।
प्रधानमन्त्री कार्कीले जारी गरेको शुभकामना सन्देशमा दिपावलीले प्रकाशको माध्यमबाट अन्धकार हटाई आशा, समृद्धि र सद्भावको सन्देश फैलाउने उल्लेख गर्दै आपसी प्रेम, सहिष्णुता र राष्ट्रिय एकता अभिवृद्धि गर्ने अवसरको रूपमा पर्व मनाउन आग्रह गरेकी छन्।
त्यसैगरी, छठ पर्वले प्रकृति, जलस्रोत र सूर्य आराधनाप्रतिको सम्मान झल्काउने बताउँदै उनले सामाजिक एकता र सद्भाव सुदृढ पार्दै आ–आफ्नो संस्कृतिप्रति गर्वपूर्वक सम्मान व्यक्त गर्ने प्रेरणा लिने सम्बोधन गरेकी छिन्।
प्रधानमन्त्री कार्कीले देश शान्ति, समृद्धि र विकासको यात्रामा अघि बढिरहेको बताउँदै सबै नेपालीले उत्सवको अवसरमा आपसी मेलमिलाप र सहयोगको भावना बढाउन आग्रह गरिन्। उनले दिपावली र छठले सम्पूर्ण नेपाली जनतामा नयाँ उत्साह, उमङ्ग र उज्यालो भविष्यको कामना पुरा गराओस् भनी प्रार्थना गरेकी छिन्।
उक्त सन्देशमार्फत प्रधानमन्त्री कार्कीले देशभर तथा विदेशमा रहँदै आएका नेपालीहरूलाई पर्वहरूले एकआपसमा जोड्ने पुलका रूपमा काम गरोस् भन्ने अपेक्षा व्यक्त गर्दै सबैको सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन्।