कलैया –सरकारले देशभर रहेका करदाता सेवा कार्यालयहरू खारेज गरेको छ। आन्तरिक राजस्व विभागले एक विज्ञप्ति जारी गर्दै उक्त निर्णयको जानकारी दिएको हो। यससँगै बाराको सदरमुकाम कलैयामा अवस्थित करदाता सेवा कार्यालय पनि हट्ने भएको छ।
विभागका अनुसार अबदेखि स्थायी लेखा नम्बर (प्यान कार्ड) लगायतका करसम्बन्धी सेवाहरू स्थानीय तहमार्फत प्रदान गरिनेछ। यसअघि यस्ता सेवाहरू करदाता सेवा कार्यालयमार्फत मात्र उपलब्ध हुने व्यवस्था थियो।
विभागले जारी गरेको सूचनामा भनिएको छ —
“स्थानीय तहबाट सो सेवा सुचारु हुन समय लाग्न सक्ने अवस्थामा ती सेवा सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै प्रवाह गर्ने व्यवस्था मिलाइएको छ।”
त्यस्तै, कर भुक्तानी, कर चुक्ता प्रमाणपत्र लगायतका अन्य सेवा भने अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको विभागले जनाएको छ।
विभागका अनुसार यो कदम सेवा प्रवाहलाई स्थानीय तहसम्म पुर्याउन, कर प्रशासनलाई सरलीकृत बनाउन, र डिजिटल प्रणालीलाई प्रभावकारी बनाउन उठाइएको हो।