मंसिर ९, बारा: अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा सामाजिक परिवर्तन केन्द्रद्वारा फेटा गाउँपालिका–३, टोल फेटामा ‘बाल विवाह नियन्त्रण तथा रोकथाम’ विषयक सामुदायिक संवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न महिला समूहका अध्यक्ष तथा प्रतिनिधि, सखी–महिलाको साथी संस्थाका प्रतिनिधि, मोल्बी, पण्डितसहित कुल ४६ जनाको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा बाल विवाहका मूल कारणबारे सहभागीहरूले आ–आफ्ना धारणा राखेका थिए। दलित महिला कृषक समूहकी अध्यक्ष राजकुमारीका अनुसार सांस्कृतिक तथा परम्परागत दबाब, कमजोर आर्थिक अवस्था, छोरी र परिवारमध्ये दुवै पक्षको शिक्षा अभाव बाल विवाहका प्रमुख कारण बनेका छन्। त्यस्तै, सुलेहा खातुनले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमको गलत प्रभावबाट पनि बाल विवाहका घटना बढिरहेको बताइन्।
सहभागी हाजरा खातुनले समाजमा प्रचलित ‘छोरीलाई छिटो विवाह गराइदिए सुरक्षित हुन्छ’ भन्ने गलत सोचका कारण बाल विवाह चलनमै रहनु दुखद रहेको उल्लेख गरिन्। हसमोदिन अन्सारीले गरीबी, शिक्षा अभाव, परम्परा, लैङ्गिक असमानता र कमजोर कानुनी कार्यान्वयनलाई बाल विवाहको प्रमुख आधार बताउँदै स्थानीय तहबाट प्रभावकारी कार्यान्वयन नहुँदा समस्या झनै जटिल बन्दै गएको बताए। सहभागी नरेन्द्र पान्डेले स्थानीय सरकारका कार्यक्रम प्रभावकारी नबन्दा रोकथाम चुनौतीपूर्ण हुने धारणा राखे।
बाल विवाह रोकथामका उपायबारे छलफल गर्दा सहभागीहरूले महिला समूह, विद्यालय, स्थानीय अगुवा र समुदाय मिलेर संयुक्त रूपमा सचेतना अभियान चलाउनुपर्ने सुझाव दिए। उनीहरूले बाल विवाह बहुआयामिक सामाजिक समस्या भएकाले यसको दीर्घकालीन समाधानका लागि समुदाय–आधारित सचेतना, शिक्षा विस्तार, आर्थिक सशक्तीकरण, कानुनी कार्यान्वयन र सामाजिक धारणामा परिवर्तन अपरिहार्य रहनेमा जोड दिए।
कार्यक्रमको सहजीकरण सामाजिक परिवर्तन केन्द्रका प्रतिनिधि बिक्की कुश्वाहाले गरेका थिए। उनले समुदायमै पुगेर बाल विवाहका समस्या, कारण र समाधानका उपायबारे छलफल गर्दै व्यवहारिक समाधान खोज्ने उद्देश्यका साथ संवाद कार्यक्रम आयोजना गरिएको जानकारी दिए।