कृषि प्रयोगशाला सम्बन्धी एक हप्ते तालिम धनुषामा सम्पन्न

धनुषा, जनकपुरधाम, मंसिर १९ : कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (बर्दिबास, महोत्तरी) द्वारा आयोजना गरिएको कृषि प्रयोगशाला सम्बन्धी एक हप्ते तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

मिति २०८२ मंसिर १४ गतेदेखि १९ गतेसम्म राष्ट्रिय धान अनुसन्धान कार्यक्रम, धनुषामा सञ्चालन भएको तालिमको कार्यक्रम प्रमुख अतिथि विश्व बैंकका प्रतिनिधि रेनु क्षेत्री , प्रमुख संयोजक तथा आयोजना प्रमुख डा. राजेश सह र विशेष अतिथि राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक मथुरा यादवको उपस्थितिमा सम्पन्न भएको थियो।

सो तालिममा बरिष्ठ वैज्ञानिक मोहम्मद फरद अली, सुन्दर श्रेष्ठ, उमेश साह, डा. पल्बी साहलगायत विज्ञ प्रशिक्षकहरूले माटो तथा कृषि प्रयोगशालामा प्रयोग हुने प्रविधि, परीक्षण पद्धति तथा विश्लेषण विधिबारे प्रशिक्षण प्रदान गरेका थिए। मधेस प्रदेशका विभिन्न स्थानीय तहबाट सहभागी २३ जना कृषि प्राविधिकहरूको सक्रिय सहभागितामा तालिम सम्पन्न भएको आयोजक राजेश ठाकुरले जानकारी दिए।

बरिष्ठ वैज्ञानिक मोहम्मद फरद अलीले तालिममा स्थानीय तहमा किरापतङ्गी र रोग नियन्त्रणका आधुनिक प्राविधिहरूका बारेमा प्रशिक्षण दिएका थिए।

विश्व बैंककी प्रतिनिधि रेनु क्षेत्रीले परियोजना मार्फत स्थानीय तहका किसानहरूको प्राविधिक समस्याहरू समाधान गर्ने प्राथमिकतामा राखिएको जानकारी गराइन्।कृषि प्रयोगशाला सम्बन्धी एक हप्ते तालिममा सहभागी   फेटा गाउँपालिकाका कृषि प्राविधिक सन्जय कुश्वाहाले किसानका समस्या पहिचान तथा समाधानमा प्रयोगशालाको भूमिका महत्वपूर्ण रहने बताएका छन्। उनले आफ्नै प्रयोगशालामार्फत माटो, बाली तथा कृषि सम्बन्धी विभिन्न समस्या विश्लेषण गरी समाधानमा सहयोग पुर्‍याइने बताएका छन्।


राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक मथुरा यादवले कृषकहरूलाई वैज्ञानिक खेती प्राविधि, माटो परीक्षण र उत्पादन वृद्धि सम्बन्धी ज्ञान प्रदान गर्नु परियोजनाको मुख्य उद्देश्य रहेको बताए। आयोजना प्रमुख डा. राजेश सहले भने, “कृषिलाई प्राथमिकतामा राख्दै कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालनमा आएका केही कमजोरीहरू सुधार गरी सेवा वितरणमा सुधार गर्ने योजना अघि बढाइरहेका छौँ।”

Comments (0)
Add Comment