रौतहट, २१ मंसिर
विरामी ओसार्न प्रयोग हुने एम्बुलेन्सलाई लागुऔषध गाँजा तस्करीको माध्यम बनाउने एक चालकलाई इलाका प्रहरी कार्यालय सर्लाही हरिवन प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल रेडक्रस सोसाइटी सर्लाही जिल्लाको रामनगर गाउँपालिका बहुअर्वाको नाममा दर्ता रहेको एम्बुलेन्सबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद भएपछि यो अवैध धन्दाको पर्दाफास भएको हो।
प्रहरीका अनुसार हरिवन नगरपालिका–५ घुर्कौली स्थित हिरालाल टोलमा गरिएको नियमित जाँचका क्रममा ज. १ च. १५५८ नम्बरको एम्बुलेन्सलाई नियन्त्रणमा लिइएको थियो। एम्बुलेन्सको विरामी राख्ने कक्ष (Cabin) भित्र बोरामा लुकाएर राखिएको अवस्थामा ५१ किलो ५ सय ग्राम साढे ५१ किलोग्राम लागुऔषध गाँजा फेला परेको सर्लाही प्रहरीले जनाए।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले दिएको जानकारी अनुसार एम्बुलेन्स चालक रौतहटको युमनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई घटनास्थलबाटै पक्राउ गरिएको हो । प्रहरी उपरीक्षक खड्काले नियन्त्रणमा लिइएका यादवलाई प्रहरी हिरासतमा राखी आवश्यक कानुनी अनुसन्धान अगाडि बढाइएको बताए । एम्बुलेन्स जस्तो अत्यावश्यक सेवाको सवारी साधन प्रयोग गरी लागुऔषध ओसारपसार गर्नु गम्भीर अपराध हो।
पछिल्लो समय रौतहट र सर्लाहीको सीमावर्ती क्षेत्र लागुऔषध गाँजा तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको देखिएको छ। विशेषगरी भारततर्फ गाँजाको ठूलो खेपहरू तस्करी हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
सीमा क्षेत्रमा हुने तस्करीका कारणले गर्दा सुरक्षा निकायको सक्रियताका बाबजुद पनि ९० प्रतिशतसम्म लागुऔषधका खेपहरू तस्करहरूको गन्तव्यसम्म पुग्ने गरेको र केवल १० प्रतिशत मात्रै पक्राउ पर्ने गरेको स्रोतले बताए। एम्बुलेन्सको दुरुपयोग गरी गरिएको यो तस्करीले सीमा नाकामा हुने सुरक्षा जाँचमाथि पनि ठूलो प्रश्नचिह्न खडा गरेको छ।
सर्लाही प्रहरीले पक्राउ परेका चालक यादवमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा चलाउने तयारी गरेको हो ।