बाराको कलैयास्थित नापी कार्यालय बारामा अनियमितता र भ्रष्टाचार खुलेआम भइरहेको गुनासो बढ्दै गएको छ। सर्वसाधारण सेवाग्राहीका अनुसार कार्यालय अगाडि बस्ने लेखनदासमार्फत ‘सेटिङ्ग’ नगरेसम्म फाइल अगाडि नबढ्ने अवस्था देखिएको छ।
सेवाग्राहीहरूले जग्गाको नक्सा, किताकाट, जग्गा नक्सांकनलगायतका कामका लागि मोटो नजराना बुझाएपछि मात्र प्रक्रिया अघि बढ्ने गरेको आरोप लगाएका छन्। कार्यालय परिसरमा लेखनदाससँग नाम र फाइल उल्लेख गराएपछि मात्र काम अघि बढ्ने प्रवृत्तिले नापी कार्यालयमा संस्थागत बेथिति मौलाउँदै गएको देखिन्छ।
बाराको फेटा गाउँपालिका वडा नम्बर ८ निवासी बैधनाथ जैसवालका अनुसार आफ्नै वडा नम्बर ७ अन्तर्गत पर्ने किता नम्बर ४४६ को १४ धुर जग्गाको किताकाट गर्न स्थानीय लेखनदासमार्फत रकमको चलखेल भएपछि मात्र फाइल अघि बढाइएको थियो। उनले कानुनी प्रक्रिया पूरा गर्दा पनि अतिरिक्त रकम बुझाउन बाध्य हुनुपरेको गुनासो गरे।
त्यसैगरी नापी कार्यालय कलैया अन्तर्गत जग्गा नक्सांकन तथा नापजोखका लागि सरकारी दस्तुर बुझाइसकेपछि पनि फिल्डमा खटिएका कर्मचारीहरूले सेवाग्राहीसँग थप रकम असुल्ने गरेको गुनासो बढ्दै गएको छ।
सर्वसाधारणका अनुसार नापी कार्यालयमा सिधै जाँदा एउटै काम गर्न तीन–चार दिन लाग्ने तर सोही काम लेखापढी व्यवसायीमार्फत लग्दा एक दिनमै सम्पन्न हुने गरेको छ। यसले सेवाप्रति कर्मचारीहरूको इमान्दारिता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ।
नापी कार्यालय बारामा बढ्दै गएको भ्रष्टाचार र अनियमितताका विषयमा कार्यालय प्रमुख सुबोध यादवसँग प्रतिक्रिया लिँदा उनले फिल्डमा खटिने केही कर्मचारीहरूका बारेमा गुनासो आएको स्वीकार गर्दै त्यसलाई सुधार गर्ने प्रयास भइरहेको बताए। उनले सेवाग्राहीलाई अनावश्यक दुःख नदिन र पारदर्शी सेवा प्रवाह गर्न कार्यालय प्रतिबद्ध रहेको दाबी गरे।
तर स्थानीयवासी तथा सेवाग्राहीहरू भने केवल प्रतिबद्धता होइन, व्यवहारमै सुधार देखिनुपर्ने माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।