मिटरब्याज पीडित र भूमिहीनको राजधानी मार्च, संयुक्त जनआन्दोलनको घोषणा

काठमाडौँमा आज पौष ७ गते मिटरब्याज पीडित र भूमिहीन समुदायले राजधानी मार्च आयोजना गरेका छन्। मिटरब्याज, लघुवित्त तथा अन्य वित्तीय शोषण र भूमि असमानताविरुद्ध आवाज उठाउँदै उनीहरूले राजधानीमा विरोध प्रदर्शन गर्न लागेका हुन्।
आयोजकका अनुसार बिहान ११ बजेदेखि मार्चपास सुरु हुनेछ। बल्खुबाट सुरु हुने मार्च त्रिपुरेश्वर, शहीद गेट हुँदै शान्तिवाटिकामा पुग्ने तालिका रहेको छ। शान्तिवाटिकामा कोण सभा आयोजना गरिने जानकारी दिइएको छ।
मार्चपछि दिउँसो २ बजे भूमि अधिकार आन्दोलन, नेपाल, लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपाल मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाललगायत विभिन्न जनसंगठनहरूको संयुक्त मोर्चाबन्दीका तर्फबाट प्रधानमन्त्रीलाई भेटेर मागपत्र बुझाउने कार्यक्रम तय गरिएको छ। आन्दोलनकारीहरूले सरकारका गम्भीर ध्यानाकर्षण गराउन संयुक्त जनआन्दोलन घोषणा गर्ने बताएका छन्।
यस आन्दोलनप्रति पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि ऐक्यवद्धता जनाएका छन्। सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “यी आधारभूत जनताका वर्षौँदेखि थाँति रहेका अत्यन्त जायज मुद्दा हुन्। सरकार र सम्बन्धित सबैको बेलैमा ध्यान पुगोस्।”
आन्दोलनकारीहरूले मिटरब्याज नियन्त्रण, लघुवित्तीय शोषणको अन्त्य र भूमिहीन नागरिकको भूमि अधिकार सुनिश्चित गर्न सरकारबाट ठोस कदम चाल्न माग गरेका छन्।

Comments (0)
Add Comment