मानव सेवा आश्रम बीरगन्जको भवन निर्माणमा सहयोग गर्ने कृषिमन्त्री पटेलको प्रतिबद्धता

बीरगन्ज– मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले वीरगन्जमा निर्माणाधीन मानव सेवा आश्रम वीरगन्ज शाखाको आफ्नै भवन निर्माणमा व्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

शनिबार बीरगन्जमा आयोजित मानव सेवा आश्रम बीरगन्जशाखाको ८औं वार्षिकोत्सव समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री पटेलले आश्रमको सेवा कार्यप्रति उच्च प्रशंसा व्यक्त गरे। उनले भने, “वीरगन्जमा पनि मानव सेवा आश्रमको आफ्नै भवन निर्माण भइरहेको छ। त्यसमा मैले पनि व्यक्तिगत तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”

मन्त्री पटेलले भवन निर्माणसँगै आश्रमको दिगो सञ्चालनका लागि आवश्यक सहयोग गर्न सधैँ तयार रहनेसमेत स्पष्ट पारे।

कार्यक्रममा बोल्दै उनले देशभर सञ्चालनमा रहेका मानव सेवा आश्रमहरूमा राज्यको प्रत्यक्ष सहयोग न्यून रहेको तीतो यथार्थ औंल्याउँदै समाजसेवी, दाता र स्वयंसेवकहरूको योगदानकै कारण यस्ता आश्रमहरू निरन्तर चलिरहेका बताए।

“मानव सेवा आश्रममा खटिएका स्वयंसेवकहरू इश्वररूपी भगवान् हुन्,” मन्त्री पटेलले भने, “उनीहरूको इमानदारी, सेवा भावना र योगदानको जति प्रशंसा गरे पनि कम नै हुन्छ।”

समारोहमा मानव सेवा आश्रम वीरगन्ज शाखाका संस्थापक संरक्षक तथा मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्य, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जारा, मानव सेवा आश्रम वीरगन्जका संस्थापक देवेश गुप्ता लगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Comments (0)
Add Comment