वीरगन्जमा हिन्दू पत्रकार संघ नेपालको केन्द्रीय बैठक सम्पन्न, प्रदेश–जिल्लास्तर विस्तारको निर्णय

वीरगन्ज– हिन्दू पत्रकार संघ नेपालको केन्द्रीय कार्यसमितिको महत्वपूर्ण बैठक वीरगन्जको माइस्थान अतिथि सदनमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता केन्द्रका अध्यक्ष राजन रौनियारले गर्नु भएको थियो।

बैठकले संगठनको संरचनालाई प्रदेश र जिल्लास्तरसम्म विस्तार गर्ने रणनीतिक निर्णय गरेको छ। यसैबीच, नवनियुक्त कोषाध्यक्ष आनन्द पटेललाई विधिवत रूपमा खादा ओढाएर पदभार ग्रहण गराइएको छ। बैठकले कोषाध्यक्ष पटेलको अनुभवले आर्थिक व्यवस्थापन र संस्थागत सुदृढीकरणमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेको छ।

बैठकले मधेश प्रदेशका संयोजक नियुक्त गर्ने र आठवटै जिल्लामा संगठन विस्तार गर्ने निर्णय पनि गरेको छ। साथै भावी कार्यक्रम तथा गतिविधिहरूलाई चरणबद्ध रूपमा अगाडि बढाउने निर्णय पनि भएको केन्द्रका सचिव राजकुमार सर्राफले जानकारी दिनुभयो।

बैठकले पत्रकारहरूको हक–हितको संरक्षण, पेशागत मर्यादा कायम राख्ने तथा धार्मिक–सांस्कृतिक मूल्य–मान्यताको संरक्षणमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता पुनः दोहोर्‍याएको छ।

बैठकमा केन्द्रका उपाध्यक्ष विनोद पटेल, कोषाध्यक्ष आनन्द पटेल, सदस्यहरू सञ्जय कुशवाहा, राकेश कुमार साह, अर्जुन चौधरी, राजु बैठा, रवि बर्नवाल, सन्तोष कुशवाहा लगायतको उपस्थिति रहेको थियो। साथै सल्लाहकार एस.के. चौरसिया, रितेश झा र आरोहण साहलगायतको पनि उल्लेखनीय सहभागिता रहेको थियो।

Comments (0)
Add Comment