बारा–बारामा नेपाल प्रहरीका एक अधिकृतको साथबाट सरकारी पेस्तोल हराएपछि मधेस प्रदेश प्रहरीमा खैलाबैला मच्चिएको छ। इलाका प्रहरी कार्यालय कबहीका प्रमुख प्रहरी नायब निरीक्षक (सई) सोनुकुमार मिश्रले बोकेको ९ एमएमको पेस्तोल रहस्यमय रूपमा हराएपछि घटनाको छानबिन तीव्र बनाइएको हो।
घटना बाहिरिएलगत्तै मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरले उक्त कार्यालयमा कार्यरत सईदेखि कार्यालय सहयोगीसम्म १२ जना प्रहरी कर्मचारीलाई प्रदेश कार्यालय झिकाएको छ। उनीहरूलाई अलग–अलग राखेर सोधपुछ तथा अनुसन्धान सुरु गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यसबीच कबहीमा भने वैकल्पिक प्रहरी टोली खटाइएको छ।
पेस्तोल हराएको घटना पुस ११ गतेको हो। जानकारी पाएपछि प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाको निर्देशनमा एसपी भेषराज रिजालको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको थियो। समितिले घटनास्थलको प्रारम्भिक अध्ययन सकेपछि थप अनुसन्धानका लागि सबै प्रहरी कर्मचारीलाई जनकपुर बोलाएको हो।
प्रारम्भिक बयानमा सई मिश्रले राति गस्तीका क्रममा हतियार हराएको बताएका छन्। तर, उनले ब्यारेकबाटै पेस्तोल हराएको भन्ने अर्को बयान पनि दिएको पाइएको छ। बयानहरूमा एकरूपता नदेखिएपछि घटना शंकास्पद बनेको छ। छानबिन समितिका संयोजक एसपी रिजालले दोषी देखिने जो–कोहीमाथि कडा विभागीय तथा कानुनी कारबाही गरिने बताए। ‘घटनाका सबै पाटोबाट अनुसन्धान भइरहेको छ, कसैलाई पनि उन्मुक्ति दिइँदैन,’ उनले भने।
यसैबीच, सीमा क्षेत्र सक्रिय रहेको तस्कर समूहले ड्युटीका क्रममा प्रहरीको हतियार खोसेर लगेको हुन सक्ने आशङ्कामा पनि अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ। यद्यपि, यसबारे आधिकारिक पुष्टि भने भइसकेको छैन। सरकारी हतियार नै सुरक्षित नहुनुले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको भन्दै प्रदेश प्रहरीले घटनालाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको जनाएको छ।