कलैया, बारा:बारा जिल्लामा सञ्चालित रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिजले आफ्नै जिल्लाका उखु किसानलाई चलान नदिँदा किसानहरू गम्भीर समस्यामा परेका छन्। उखु बिक्री तथा ढुवानीका लागि आवश्यक चलान नपाउँदा किसानको उखु खेतमै सुक्ने र ठूलो आर्थिक नोक्सानी हुने जोखिम बढ्दै गएको छ।
कलैया उपमहानगरपालिका–२४ श्रीपुरमा रहेको रिलायन्स चिनी मिलले बारा जिल्लाका किसानलाई बेवास्ता गर्दै पर्सा र रौतहट जिल्लातर्फ चलान दिने गरेको आरोप किसानहरूले लगाएका छन्। उद्योग बारा जिल्लामै स्थापना भए पनि स्थानीय किसानलाई प्राथमिकता नदिइएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
किसानहरूका अनुसार महिनौँको मेहनतपछि तयार भएको उखु समयमै चलान नपाए खेतमै बिग्रिने अवस्था आएको छ। “उद्योग हाम्रो जिल्लामै छ, तर उखु बेच्न बाहिरका जिल्लालाई सहजता दिइन्छ, हामीलाई भने चलान दिइँदैन,” एक किसानले गुनासो गरे। उखु बिक्री हुन नसक्दा बैंक ऋण, मल–बीउ खर्च र परिवारको दैनिकी प्रभावित भएको उनीहरूको भनाइ छ।
किसानहरूको आरोप छ कि उद्योगले बीउ वितरण र रोपाइँका बेला उखु खेती गर्न प्रोत्साहन गर्ने तर उखु तयार भएपछि चलान नदिई पन्छिने गरेको छ। “रोपाइँका बेला आश्वासन दिइन्छ, तर बिक्रीको समय आउँदा अर्कै जिल्लालाई प्राथमिकता दिइन्छ,” उनीहरूले बताए।
स्थानीय किसानहरूले उखु खेतमै नोक्सान भए त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठाएका छन्। उद्योग नाफामुखी बन्दै जाँदा किसानको श्रम र पसिनाको मूल्य उपेक्षित भइरहेको उनीहरूको गुनासो छ।
किसानहरूले समस्या समयमै समाधान नभए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन्।