वीरगञ्जमा पत्रकार श्रवण साहमाथि आक्र’मण, दोषीमाथि कारबाही गर्न पत्रकार महासङ्घको माग

वीरगञ्ज : नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले वीरगञ्जलगायतका क्षेत्रमा विभिन्न धार्मिक समुदायले आयोजना गरेका प्रदर्शनका क्रममा समाचार सङ्कलनमा खटिएका सञ्चारकर्मीमाथि भएका आक्रमण र दुर्व्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घका सचिव विजय महतो एउटा प्रेस विज्ञप्ति जारी गर्दै सोमबार वीरगञ्जमा जारी निषेधाज्ञाबिच प्रदर्शनकारी र प्रहरीबिच भइरहेको झडपको रिपोर्टिङका क्रममा स्थानीय भोजपुरी टाइम्स दैनिकका कार्यकारी सम्पादक श्रवण साहसँग भएको दुर्व्यवहार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

महतोका अनुसार प्रदर्शनको दृश्य खिचिरहेको अवस्थामा प्रदर्शनकारीले साहको मोबाइल खोसेर उनीमाथि आक्रमण गरेका थिए । उनले साहमाथि भएको आक्रमणको निन्दा गर्दै समाचार सङ्कलनमा खटिएका पत्रकारमाथि भएको आक्रमण र अवरोधलाई प्रेस स्वतन्त्रता तथा नागरिकको सूचित हुन पाउने अधिकारको गम्भीर हनन भएको बताएका छन् । उनले स्वतन्त्र प्रेस विरोधी गतिविधि नगर्न प्रदर्शनकारीलाई सचेत समेत गराएका छन् ।

Comments (0)
Add Comment