कलैया , २५ पौष
महिला तथा बालिकाविरुद्ध हुने हिंसा रोकथाम र सम्बन्धित नीतिगत पहलका बारेमा जानकारी आदान–प्रदान गर्ने उद्देश्यले कलैयास्थित बरेवा दरबार होटलमा शुक्रबार पत्रकारहरूसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम फ्रेन्ड्स विदआउट बोर्डर्स (एफडब्लुएलडी) को आयोजनामा भएको थियो।
कार्यक्रममा सहभागी प्रतिनिधिहरूले पालिकास्तरमा बनाइएका कानुन र नीति कार्यान्वयनमा चुनौतीहरू रहेको बताए। न्यु फ्रेन्ड क्लबका प्रतिनिधिहरूले प्रभावकारी अनुगमन र नियमित मूल्याङ्कनको अभावका कारण कार्यक्रम अपेक्षित परिणाम दिन नसकेको अनुभव सुनाए।
एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्ता समीर श्रेष्ठले संविधानले महिला तथा बालबालिकालाई प्रदान गरेको संरक्षणबारे स्पष्ट पार्दै स्थानीय तहको भूमिकाको महत्व औँल्याए। उनले बालविवाह अन्त्य, महिला र बालिकामाथि हुने हिंसा न्यूनीकरणमा पालिकास्तरको सक्रियता अपरिहार्य भएको बताए। यसै क्रममा कलैया उपमहानगरपालिका, करैयामाई गाउँपालिका, बारागढी गाउँपालिका र महागढीमाई नगरपालिका गरी पाँचवटा पालिकामा हिंसा न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइसकेको जानकारी उनले दिएका थिए।
कार्यक्रमका वक्ताहरूले यौनजन्य दुव्र्यवहार, मानव बेचबिखन, बहुविवाह तथा अन्य अपराध रोक्न कानुनी पहलका साथै सामाजिक संवेदनशीलता आवश्यक रहेकोमा जोड दिए।
कलैया उपमहानगरपालिकाका सामाजिक विकास शाखा प्रमुख तपसी प्रसाद चौरसियाले “महिला तथा बालबालिका हिंसा सिफारिस प्रणाली–२०८२” नगरसभाबाट पारित भइसकेको जानकारी दिए। उनले बताएअनुसार सो प्रणाली कार्यान्वयन गर्न उपमहानगरपालिकाका १० वटा शाखालाई समेटेर १० वटा समिति गठन गरिएको छ र समितिहरूमार्फत महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्यूनीकरणमा काम भइरहेको छ।
कार्यक्रमका वक्ताहरूले हाल सञ्चालनमा रहेका कार्यक्रमहरूको प्रभावकारिता मापन गर्ने अनुगमन प्रणाली कमजोर भएको औँल्याए। अनुगमन नहुँदा योजनाहरू पूर्ण रूपमा सफल हुन नसकेको निष्कर्ष पनि उनीहरूले प्रस्तुत गरे।
देवताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णन्दन राय यादवले न्यु फ्रेन्ड क्लबको सहकार्यमा ऐन निर्माण गरी पालिकास्तरमा कार्यान्वयन भइरहेको जानकारी दिनुभयो। कार्यक्रमले पालिकास्तरीय नीति र कानुन कार्यान्वयनको चुनौती र सम्भाव्यता दुवै विषयमा पत्रकार र सरोकारवालाबीच गहन बहसको अवसर प्रदान गरेको थियो।