रौतहट , २५ पौष
मुलुकको राजनीतिक प्रक्रियामा सीमान्तकृत महिलाहरूको सक्रिय र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यका साथ रौतहटको चन्द्रपुरमा एक विशेष ‘सामुदायिक संवाद’ कार्यक्रम सम्पन्न भएको छ। एक्सेस नेपालको आयोजना तथा यूएन वुमनको सहयोगमा सञ्चालित यस कार्यक्रमले स्थानीय स्तरमा महिला नेतृत्व र उनीहरूको राजनीतिक अधिकारका विषयमा गम्भीर मन्थन गरेको हो ।
रौतहटको चन्द्रपुर स्थित होटल गौतममा आयोजित उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधि, नागरिक समाजका अगुवा तथा सञ्चारकर्मीहरूको व्यापक उपस्थिति रहेको थियो। कार्यक्रममा विशेष गरी आर्थिक र सामाजिक रूपमा पछाडि पारिएका (सीमान्तकृत) महिलाहरूलाई कसरी नीति निर्माणको तहमा पुर्याउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित भएको थियो।
कार्यक्रमका बारेमा जानकारी दिँदै एक्सेस नेपालकी कार्यकारी निर्देशक लक्ष्मी नेपालले नेपालको संविधानले महिला सहभागिताको ग्यारेन्टी गरे पनि व्यवहारमा अझै धेरै चुनौतीहरू बाँकी रहेको बताइन् । उनले भन्निन, “सीमान्तकृत महिलाहरू केवल संख्यात्मक उपस्थितिमा मात्र सीमित हुनुहुँदैन; उनीहरूको सहभागिता निर्णय प्रक्रियामा अर्थपूर्ण हुनुपर्छ।”
त्यस्तै, मधेश प्रदेश संयोजक कल्पना साहले मधेशको सामाजिक परिवेशमा महिलाहरूको राजनीतिक यात्रामा रहेका अवरोधहरू र ती अवरोध चिर्न समुदायको भूमिकाका बारेमा प्रकाश पारेकी थिइन् । उनले स्थानीय तहमा हुने संवादले महिलाहरूमा आत्मविश्वास भर्ने र राजनीतिक दलहरूलाई समावेशी बन्न दबाब दिने विश्वास व्यक्त गरीन।
संवादमा सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले आफ्ना दलका संरचनामा महिलाहरूलाई अगाडि बढाउने र उम्मेदवारी छनोटका क्रममा सीमान्तकृत समुदायका महिलालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका थिए। सञ्चारकर्मीहरूले महिलाका मुद्दालाई प्राथमिकताका साथ उठाउने र उनीहरूको नेतृत्व विकासमा सघाउ पुर्याउने धारणा राखेका थिए। सीमान्तकृत महिलाको अर्थपूर्ण राजनीतिक सहभागिता र नेतृत्व विकास, यो कार्यक्रमले रौतहट जिल्लामा महिला अधिकार र राजनीतिक चेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने सहभागीहरूले अपेक्षा गरेका छन्।