राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मालाई चुनावी टिकट नदिएपछि पार्टीभित्र आन्तरिक विवाद चुलिँदै गएको छ। टिकट वितरणको निर्णयपछि विशेषगरी मधेस प्रदेशमा असन्तुष्टि र चर्चाले व्यापकता पाएको छ।
बारा जिल्लाकी ममता शर्मा रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति हुन्। यसपटक चुनावी टिकट पाउने आशामा रहेकी उनले अन्तिम समयमा टिकट नपाएपछि पार्टी नेतृत्वप्रति असन्तोष व्यक्त भएको स्रोतले जनाएको छ। मधेसमा रास्वपाको संगठन निर्माणका प्रारम्भिक दिनदेखि सक्रिय भूमिका खेलेकी शर्मालाई टिकट नदिनु पार्टीकै लागि विवादको विषय बनेको छ।
बारा–१ का क्षेत्रीय सभापतिसमेत रहेका रजनीश कुशवाहाले टिकट नपाएको विषयप्रति असन्तोष जनाउँदै भने, “ममताजीलाई टिकट नदिँदा हामी बाराबासी छक्क परेका छौँ। मधेसमा रास्वपाको कोही पनि नभएको बेला उहाँले पार्टीलाई साथ दिनुभएको थियो। त्यतिबेला मनीष झाको पनि अत्तोपत्तो थिएन, तर आज ममताजीले टिकट नपाउनु दुःखद विषय हो।”
यसअघि शर्माले समानुपातिकतर्फ पनि उम्मेदवारी दिएकी थिइन्। पार्टीको प्राइमरी निर्वाचनमा तेस्रो स्थानमा नाम निकाल्न सफल भए पनि अन्तिम सूची बनाउँदा उनको नाम सातौँ स्थानमा राखिएको थियो। त्यसपछि पार्टीको निर्णयप्रति असहमति जनाउँदै उनले समानुपातिक सूचीमा बस्न अस्वीकार गरेकी थिइन्।
टिकट वितरणलाई लिएर उठेको विवादले रास्वपाको मधेस प्रदेश संगठनमा थप असर पर्ने संकेत देखिएको छ। स्थानीय नेताहरूले नेतृत्वले निर्णय पुनरावलोकन गर्नुपर्ने मागसमेत गर्न थालेका छन्।