कलैया यातायात कार्यालयमा सेवाग्राहीमुखी सुधार, बदनाम गराउने प्रयास भएको कार्यालय स्रोतको दाबी

कलैया, १७ माघ
 यातायात व्यवस्था कार्यालय कलैयामा पौष २८ गतेदेखि हाजिर भएका कार्यालय प्रमुख चिन्तन आचार्यको नेतृत्वमा सेवाग्राहीमुखी सुधारका कार्यक्रमहरू तीव्र रूपमा सञ्चालन हुँदै आएका छन्। कार्यालयले दैनिक रूपमा बायोमेट्रिक, लिखित तथा ट्रायल परीक्षा नियमित र व्यवस्थित ढंगले सञ्चालन गरिरहेको जनाएको छ।
कार्यालय स्रोतका अनुसार नयाँ व्यवस्थापन लागू भएसँगै सेवा प्रक्रिया पारदर्शी, समयमै र व्यवस्थित बन्न थालेको छ। यसले केही बिचौलिया तथा अनधिकृत समूहहरूको ‘कमाइ खाने’ पुरानो अभ्यासमा अवरोध पुगेपछि कार्यालय प्रमुख आचार्यले कामकाज नगरेको भन्दै गलत सूचना फैलाएर बदनाम गराउने प्रयास भइरहेको स्पष्ट भएको स्रोतको दाबी छ।
यातायात कार्यालय स्रोतले भन्यो, “सेवाग्राहीलाई प्रत्यक्ष लाभ हुने गरी प्रणाली सुधार गरिँदै छ। बायोमेट्रिक दर्ता, लिखित तथा ट्रायल परीक्षा तोकिएका मापदण्डअनुसार दैनिक रूपमा सञ्चालन भइरहेका छन्। यसबाट असन्तुष्ट भएका केही बिचौलियाहरूले कार्यालय प्रमुख र कर्मचारीविरुद्ध निराधार आरोप लगाउँदै भ्रम फैलाइरहेका छन्।”
कार्यालयका कर्मचारीहरूका अनुसार पछिल्लो समय सेवा प्रवाहमा ढिलासुस्ती घटेको, लाइन व्यवस्थापन सुधारिएको र सेवाग्राहीको चाप व्यवस्थित हुँदै गएको छ। अनियमिततासम्बन्धी उजुरी आएमा छानबिन गर्न कार्यालय सधैं तयार रहेको समेत स्रोतले जनाएको छ।
सेवाग्राहीसँग प्रत्यक्ष सरोकार राख्ने सरकारी निकायमध्ये महत्त्वपूर्ण मानिने यातायात व्यवस्था कार्यालय कलैयामा पछिल्लो समय देखिएको यो सुधारलाई स्थानीयहरूले सकारात्मक रूपमा लिएका छन्। कार्यालय प्रमुख आचार्यले सीमित जनशक्ति र स्रोतसाधनको बीचमा पनि सेवाग्राहीको सुविधालाई केन्द्रमा राख्दै कार्यालय सञ्चालन गरिरहेको बताइन्छ।
आचार्यले जिम्मेवारी सम्हालेयता सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी बायोमेट्रिक, लिखित परीक्षा र ट्रायल परीक्षा दैनिक रूपमा सञ्चालन हुन थालेपछि लामो समयदेखि देखिँदै आएको भीड, ढिलासुस्ती र अनावश्यक झन्झट क्रमशः कम हुँदै गएको छ।
सेवाग्राही श्याम ठाकुरका अनुसार पहिले लाइसेन्सका लागि महिनौँ कुर्नुपर्ने अवस्था रहे पनि अहिले भने समयमै सेवा पाउन थालिएको छ।
“अनलाइन फारम भरेलगत्तै बायोमेट्रिकको मिति आउँछ। बायोमेट्रिक गरेकै दिन लिखित परीक्षा र त्यसपछि ट्रायल परीक्षा पनि हुने भएकाले समय र खर्च दुवै बचत भएको छ,” उनले बताए।
दैनिक रूपमा परीक्षा सञ्चालन हुन थालेपछि कार्यालयको समग्र व्यवस्थापन पनि सुधारोन्मुख देखिन्छ। विभिन्न राजनीतिक विचारधारा राख्ने स्थानीय राकेश पाण्डेयले पनि कार्यालय प्रमुख आचार्यको कार्यशैलीको प्रशंसा गर्दै भने, “नियमित रूपमा परीक्षा सञ्चालन हुँदा भीड नियन्त्रणमा आएको छ, कामकाज पारदर्शी र व्यवस्थित देखिन्छ।”
स्थानीय स्तरमा यातायात कार्यालय कलैयामा भएको यो सुधारलाई सेवाग्राहीमैत्री प्रशासनको उदाहरणका रूपमा हेरिन थालेको छ। सीमित स्रोतसाधनका बीच पनि प्रभावकारी सेवा दिन सकिन्छ भन्ने सन्देश कार्यालय प्रमुख चिन्तन आचार्यको कार्यशैलीले दिएको स्थानीयहरूको बुझाइ छ।
यातायात व्यवस्था कार्यालय कलैयाले सेवाग्राहीलाई कुनै पनि कामका लागि बिचौलियाको सहारा नलिन, समस्या वा गुनासो भए सीधै कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ। सेवाग्राही केन्द्रित सेवा प्रवाह निरन्तर रहिरहे कलैया यातायात कार्यालय नागरिकमैत्री सरकारी कार्यालयको रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।
Comments (0)
Add Comment