पर्सा, १७ माघ
पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट दुई पटक निर्वाचित माननीय प्रदिप यादवविरुद्ध स्थानीय स्तरमा विरोध चर्किएको दाबी गरिएको छ। स्थानीय बासिन्दाका अनुसार वीरगञ्ज महानगरपालिका–१६ नगवा र मुर्ली गाउँमा आयोजित कार्यक्रमका क्रममा यादवविरुद्ध नाराबाजी गर्दै प्रदर्शन भएपछि उहाँलाई ती क्षेत्रबाट फर्किन बाध्य पारिएको हो।
स्थानीयहरूको भनाइअनुसार जनता समाजवादी पार्टी (जसपा) बाट दुई–दुई पटक सांसद निर्वाचित भएका यादवमाथि विगतमा मधेसी जनताको नाम प्रयोग गर्दै भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ। ती आरोपहरू सार्वजनिक भएसँगै आफूहरू ठगिएको महसुस भएको भन्दै विरोधमा उत्रनुपरेको स्थानीयहरूले बताएका छन्।
प्रदर्शनकारीहरूले निर्वाचनका बेला एमालेविरुद्ध कडा अभिव्यक्ति दिँदै मत माग्ने तर पछिल्लो समय त्यही एमालेबाट निर्वाचनमा सहभागी हुन खोजेको भन्दै तीव्र असन्तुष्टि जनाएका छन्। “मधेसी जनतालाई मूर्ख बनाएर राजनीति गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ,” एक स्थानीयले आक्रोश व्यक्त गरे।
विरोधका क्रममा प्रदर्शनकारीहरूले “एमाले मुर्दावाद” र “प्रदिप यादव मुर्दाबाद” जस्ता नाराहरू लगाएका थिए। सो घटनापछि केही समयका लागि क्षेत्र तनावग्रस्त बनेको बताइएको छ।
यस विषयमा माननीय प्रदिप यादव वा उहाँको पक्षबाट भने समाचार तयार पार्दासम्म कुनै औपचारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन। राजनीतिक विश्लेषकहरूका अनुसार यस्तो घटना मधेसको राजनीतिमा बढ्दो जनअसन्तुष्टि र नेताप्रति घट्दो विश्वासको संकेत हुन सक्छ।
स्थानीय तहमा देखिएको यो विरोधले आगामी निर्वाचनमा पर्सा क्षेत्रको राजनीतिक समीकरणलाई प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।