Modern technology gives us many things.

पाठ्यक्रममा स्वास्थ्य शिक्षा ऐच्छिक होइन अनिवार्य बनाइनुपर्छ’

काठमाडौँ  अषाढ ७ :यौन तथा प्रजनन स्वास्थ्यका विषयमा विद्यालय तहबाट शिक्षा दिन सके यसको अभावमा आउन सक्ने समस्या समयमै समाधान गर्न सकिने सरोकारवालाहरूले बताएका छन्।

सीप सूचना समाज (सिसो), नेपाल र प्लान इन्टरनेसनल नेपालको सहकार्यमा आयोजित ‘यौन तथा प्रजनन स्वास्थ्य अधिकार’सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रमका सहभागीले यौन तथा प्रजनन स्वास्थ्यबारे जनचेतना फैलाउन नसकिएको भन्दै पाठ्यक्रममा आधारित बृहत्तर यौन शिक्षाको आवश्यकता औंल्याएका हुन्।

सिसो नेपालका कार्यकारी निर्देशक खुमानन्द सुवेदीले विद्यालय तहबाट यौन शिक्षा दिन सकिएमा यसबाट उत्पन्न हुने समस्याको निराकरण गर्न सहज हुने धारणा राखे। उनले यौन तथा प्रजनन शिक्षा सबै उमेर समूहका लागि आवश्यक पर्ने उल्लेख गर्दै किशोरकिशोरी केन्द्रित योजना कार्यान्वयनले यससम्बन्धी समस्या समाधानमा सकारात्मक भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे।

उनले साङ्गीतिक कार्यक्रम अनिवार्य विषय बनाइराख्दा स्वास्थ्य शिक्षा भने ऐच्छिक राखिनु मनासिब नहुने बताए। उनले भने, ‘यौन शिक्षा अनिवार्य बनाइनुपर्छ। कानुनले व्यवस्था गरेका अधिकारका बारेमा युवा तथा किशारकिशोरीलाई केही जानकारी छैन। स्वास्थ्य शिक्षा विषयका शिक्षकको दरबन्दी छुट्याउनुपर्छ। पाठ्यक्रममा आधारित बृहत्तर यौनिकता शिक्षा आवश्यक छ।’

यौन तथा प्रजनन स्वास्थ्य विज्ञ खेमबहादुर कार्कीले यौन स्वास्थ्य सबैका लागि आवश्यक विषय भए पनि समाजमा आफ्ना समस्या खुलेर राख्न र बहस गर्न नसक्ने परिपाटी रहेको बताए। उनले यसबारे सचेतना फैलाउन, यौन स्वास्थ्य शारीरिक, मानसिक र सामाजिक रूपमा आवश्यक छ भन्ने बुझाउन सरोकार भएका निकाय, सञ्चरकर्मी, सञ्चार माध्यमलगायतको सहकार्य र समन्वयमा पैरवी गर्नुपर्नेमा जोड दिए।

उनले यौन तथा प्रजनन स्वास्थ्यका बारेमा आमनागरिकलाई बुझाउन नसक्दा कतिपय घरेलु हिंसा बढेको पनि बताए। ‘अस्वस्थ्यकर जीवनशैलीले पनि मानिसमा यौन दुर्वलताको समस्या बढाइरहेको छ। यौन तथा प्रजनन स्वास्थ्यका विषयमा सामाजिक सङ्कीर्णता तथा गलत भाष्य व्याप्त छन्, यसलाई चिर्नुपर्छ,’ उनले भने।

प्रेस काउन्सिलका बोर्ड सदस्य पदमराज जोशीले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसमबन्धी पर्याप्त समाचार सङ्कलन हुन नसकेको बताए। उनले यो संवेदनशील विषय भएकाले यसबारेमा समाचार सङ्कलन, सम्प्रषण गर्दा गोपनीयताका साथै भाषामा ध्यान दिनुपर्नेमा जोड दिए।

शुक्रबारदेखि सुरु अभिमुखीकरण शनिबार सम्पन्न भएको हो। अभिमुखीकरणमा धनुषा, महोत्तरी, बाँके, बर्दिया, कालीकोट, जुम्लाल, काठमाडौ‌ंलगायतका सञ्चारकर्मीले सहभागिता जनाएका थिए।

Leave A Reply

Your email address will not be published.